तराईका विभिन्न जिल्लाबाट मिटरव्याजी पीडित ११ दिन पैदलयात्रा गर्दै काठमाडौं आइपुगे । तर, त्यो पीडितको भिडमा मिटरव्याजी मात्र छैनन् ।
भिडमा लघुवित्तका पीडित पनि उत्तिकै देखिन्छन् । पछिल्लोसमय लघुवित्तहरुले ऋणीलाई डर, धम्की देखाउँदै बढी पैसा लिने गरेपछि पीडितहरु आन्दोलनमा उत्रिएका थिए । त्यसपछि नेपाल राष्ट्र बैंकले पीडितको समस्या समाधान गर्ने भन्दै निर्देशन जारी गर्यो । तर, पीडितको समस्या ज्यूँ का त्यूँ छ ।
उक्त निर्देशनमा लाभांस कडाईदेखि ऋण दिँदा धितो लिन नपाइनेसम्म थियो । लघुवित्तको सदस्यको समस्या समाधान गर्ने भनिएपनि त्यसो हुन सकेको छैन । अझै पनि लघुवित्तहरुले ऋणीलाई दुःख दिने कार्य बन्द गरेका छैनन् ।
ऋणीलाई डराउने, धम्क्याउने, ऋण दिएको भन्दा बढी पैसा उसुल्ने र ऋण तिरीसक्दा पनि धितो राखेको जग्गा लिलामी गर्दिन्छु भन्दै बचत समेत फिर्ता नगर्ने गरेको पीडितहरुको गुनासो छ ।
त्यसैले लघुवित्तका पीडित पनि मिटर ब्याजीको भीडमा न्याय पाउने आशले काठमाडौँ आएका छन् । उनीहरु सरकारले न्याय लिने आशमा काठमाडौंसम्म आइपुगेको बताउँछन् । पीडितहरुकै शब्दमा-
नसीरा खातुन, सर्लाही
१० वर्षअघि मैले डिप्रोक्स लघुवित्त, निर्धन उत्थान लघुवित्त र इन्फिनिटी लघुवित्त वित्तिय संस्थाको कारोबारमा आबद्ध थिए । कारोबार गर्दै जाँदा घरमा आर्थिक समस्या बढेपछि ऋण लिएँ । डिप्रोक्स लघुवित्तिबाट ६० हजार रुपैयाँ ऋण लिएकी हुँ ।
घरमा आम्दानीको स्रोत केही नभएपछि लघुवित्तको ऋण तिर्नकै लागि निर्धन र इन्फिनिटी लघुवित्तबाट पनि १–१ लाख रुपैयाँ ऋण लिए । डिप्रोक्स लघुवित्तिबाट ६० हजार ऋण लिँदा २२ दिनमा १ लाख ५० हजार रुपैयाँ लिएर गयो । निर्धन लघुवित्तबाट पनि १ लाख ऋण लिएकोमा महिनापिच्छे १०–१० हजार रुपैयाँ तिरेर ऋण चुक्ता गर्दा पनि अझै लघुवित्तले पैसा मागिरहेको छ । मैले बचत गरेको २ लाख पनि फिर्ता दिन्न भन्छ ।
अर्को इन्फिनिटी लघुवित्तले झनै अत्याचार गरेको छ । इन्फिनिटीबाट मैले १ लाख कर्जा तिरिसक्दा पनि धम्क्याएर थप २ लाख लियो । त्यसमा भएकोे ९० हजार बचत फिर्ता नगर्ने भन्दै धम्क्याउने गरेको छ । सबै ऋण तिरीसकेँ, अव पैसा दिन्नँ भन्दा लघुवित्तका कर्मचारी घरमा आएर ताला लगाई तानेर लगे । यस्तो अवस्थामा छोराछोरीले पनि सहायता गर्दैनन् । अव काम गर्ने उमेर पनि छैन कहाँबाट ल्याएर दिने ? सरकारले उद्धार गर्ने आशामा म त काठमाडौंसम्म आएको हुँ ।
अलौँदिन मनसुर, सर्लाही
मैले ५ वर्ष अगाडि सिरक र डसनाको व्यवसाय गर्न निर्धन लघुत्तिबाट १ लाख रुपैयाँ ऋण दिएको थिए । कोरोनाका कारण त्यो पनि राम्रो चल्न सकेन । किसान मजदुरी गरेर दिनको ६ सय कमाई महिनाको ७ हजारको दरले ३ वर्षसम्म लगातार तिरेर ऋण चुक्ता गरेको हो । तर अहिलेसम्म ऋण लिँदा धितो राखेको जग्गा फुकाइदिएको छैन ।
घरमा ४ जना साना बच्चा र बुढी छन् । कमाएर दिने मान्छे कोही छैन् । दिनरात मेहेनत गरेर ५ धुर जग्गा जोडेको थिए । त्यो पनि लघुवित्तले दिँदैन, कहाँ गएर बस्ने हो । मेरो जग्गा फुकाइदे भन्दा फेरीपनि व्याज जोडेर २ लाख ८० हजार पुर्याएको छ । मैले ऋण तिरीसके अब पैसा किन दिनेभन्दा लघुवित्तका कर्मकारी घरमा आएर जग्गा लिलाम गर्दिन्छु भन्दै धम्क्याउँछन् । धम्की दिन्छ । कुटपिट गर्छन् । गरिब मान्छेलाई साथ दिने कोही पनि नहुने रहेछ ।
बिल्टुनिया खातुन, सर्लाही
मैले छोरीको विवाह गर्नको लागि र श्रीमानको उपचार गर्न जग्गाको लालपुर्जा धितो राखी निर्धन लघुवित्तबाट १ लाख ३० हजार रुपैयाँ र इन्फिनीटी लघुवित्त वित्तिय संस्थाबाट ५० हजार रुपैयाँ ऋण लिएको थिए । अहिले मैले दुई वटै संस्थाको ऋण चुक्ता गरिसकेको छु । तर, लघुवित्तले मैले जम्मा गरेको बचत पनि फिर्ता गर्दैन् र जग्गाको लालपुँजा पनि नदिने भन्छ ।
ऋण लिएको भन्दा ४ लाख बढी लिइसकेको छ । ऋण तिर्नकै लागि मैले रे १० कठ्ठा खेत र डेढ कठ्ठा घडेरी बेचिसकेको छु । अझैपनि कहिलेसम्म संस्थालाई बढी पैसा दिँदै हो । हामी त गरिब छौँ । घरमा आम्दानीको स्रोत केही छैन । सरकारले न्याय दिन्छ की भनेर काठमाडौं आएकी हुँ ।































प्रतिक्रिया