उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा क्यानका निवर्तमान अध्यक्ष कुँवरको उम्मेदवारी

उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा क्यानका निवर्तमान अध्यक्ष कुँवरको उम्मेदवारी

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा तथा महाधिवेशन आउँदो चैत २८ र २९ गते हुँदैछ। सो महाधिवेशलने महासंघको नयाँ कार्यकारिणी समिति चुन्नेछ।

यसैबीच सूचना तथा सञ्चार प्रविधि क्षेत्रको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघका तर्फबाट निवर्तमान अध्यक्ष नवराज कुँवरले एफएनसिसिआइको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन्। १२३ वस्तुगत संघहरूको तर्फबाट कुँवरले केन्द्रीय कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका हुन्।

कुँवर क्यान महासंघका अलावा एसियन ओसियन कम्प्युटिङ इन्डस्ट्रिज अर्गनाइजेसनका उपाध्यक्ष, उद्योग वाणिज्य महासंघका आइसिटी विकास उपसिमितिका सहसभापति, प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष, आईसीटी अप्टिमिस्ट क्लब अफ काठमाडौँका अध्यक्षसमेत हुन्।

सूचना प्रविधि क्षेत्रको विकास, विस्तार तथा प्रवर्द्धनका लागि निजी क्षेत्रमैत्री नीति नियम बनाउन सरकारसँग सहकार्य गर्नेगरी क्यान महासंघको तर्फबाट कुँवरले उम्मेदवारी दिएका हुन्।

यस्तै, डिजिटल साक्षरता बढाउन, इन्टरनेट गुणस्तरीय र सस्तो बनाउन, सकेसम्म सबै कारोबार डिजिटल गर्न, विदेशी लगानी प्रवर्द्धन गर्न, डिजिटल अर्थतन्त्र निर्माण गर्न, उद्योग वाणिज्य महासंघलाई डिजिटल बनाउँदै वृहत राष्ट्रिय सञ्जालको निर्माण गर्न, स्टार्टअप र इन्नोभेसनलाई प्रवर्द्धन गर्न संस्थाको तर्फबाट कार्यसमिती सदस्यमा कुँवरलाई अगाडि सारिएको क्यान महासंघले जनाएको छ।

कुवँरको जीतका लागि नेपाल उद्योग वाणिज्य महासंघका सम्पूर्ण मतदातासँग अमूल्य मतको अपेक्षा राखिएको क्यान महासंघका अध्यक्ष रञ्जित पोदारले बताए।

क्यान महासंघ सूचना तथा सञ्चार प्रविधि क्षेत्रको संस्थागत विकासका लागि सन् १९९२ मा गैरनाफामूलक संस्थाको रुपमा स्थापित नेपालमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति र विज्ञ, व्यवसायीहरू र संघसंस्थाहरूको छाता संगठन हो।

महासंघले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरतहरूको हक हितका लागि काम गर्दै आएको, सूचना प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिनिधित्व गर्दै सूचना प्रविधि सम्बन्धी नीति तथा कार्यक्रममा नेपाल सरकारलाई आवश्यक सुझाव र सहयोग दिँदै आएको छ।

Logo