आज नाग पञ्चमी, नाग मन्दिरमा भक्तजनको उपस्थिती कम

आज नाग पञ्चमी, नाग मन्दिरमा भक्तजनको उपस्थिती कम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज नाग पञ्चमी । नागको तस्बिरलाई घरको मूल प्रवेशद्वारामा टाँसेर पूजा अर्चना गरी नाग पञ्चमी मनाउने गरिन्छ । घरमा सर्प, बिच्छी लगायतका विषालु जीवले दुःख नदिने तथा आगो र चट्याङको भय नहुने जनविश्वासका साथ नाग पञ्चमी मनाउने चलन रहेको छ ।

आजको दिन नागको तस्बिरलाई घरको मूल प्रवेशद्वारमा टाँसेर अर्चना गर्दै नागप्रति श्रद्धा व्यक्त गर्ने प्रचलन छ । अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कोटक, शङ्ख, पद्म, महापद्म गरी आठ नागको तस्बिरमा दूध, दही, अक्षता, फूल, दुबो र कपास राखेर पूजा गरी गाईको गोबरले घरको ढोकामाथि टाँस्ने प्रचलन छ ।

काठमाडौँ उपत्यकामा भचाखुसीस्थित घोडेनाग, गल्कोपाखा ठमेलको हरिनाग, टुँडिखेल सुन्धारा छेउको मीननाग, इटुम्बहालको जलनाग, टेकुको टेकुनाग, थानकोटको नागढुङ्गा, धापाखेलको नागदह, चोभारपारि टौदह, नक्सालमा रहेको नागपोखरी र चाँगुनारायण कलमसीस्थित कल्पेश्वर नागमा विशेष रूपमा पूजाअर्चना गर्ने प्रचलन छ ।

कोरोना संक्रमणका कारण यसपटक नाग पोखरीहरुमा मेला भने लागेन । नक्सालमा रहेको नाग पोखरीमा बिहानैदेखि भक्तजनहरु नागको पूजाका गर्न भेला भएका थिए । यद्यपी यो वर्ष पोखरीको बीचमै गएर नागको दर्शन गर्न भक्तजनहरुले पाएनन् । विगत वर्षहरुभन्दा भक्तजनहरुको संख्या पनि न्यून थियो ।

Logo