निर्मला पन्त हत्याको आज दुई वर्ष पूरा : के अब निर्मलाले न्याय पाउलिन् ?

निर्मला पन्त हत्याको आज दुई वर्ष पूरा : के अब निर्मलाले न्याय पाउलिन् ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पुगेको छ। तर अझै पनि घटनाका दोषीको पहिचान हुन सकेको छैन । पीडितले न्याय पाउन सकेका छैनन् ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको २ वर्ष पूरा भएको छ । अहिलेसम्म उनका हत्यारा पत्ता लाग्न सकेका छैनन् । देश विदेशमा चर्चाको विषय बनेको यो प्रकरण अझै कहिलेसम्म रहने हो, अहिले नै भन्न सकिने अवस्था छैन ।

अधिकारकर्मी, विभिन्न संघसंस्था, राजनीतिक दल सबैले विभिन्न आन्दोलन गरे । अपराधीको पहिचान गरि कारबाही गर्न सरकारलाई दबाब दिए तर पनि सरकारले हालसम्म दोषीको पहिचान गर्न सकेको छैन ।

निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्न अभियुक्तको खोजीका क्रममा प्रहरीले बनाएका शंकास्पद व्यक्तिका सबै स्केच फेल भएका छन् । ०७५ साउन १० मा साथीको घर जान भन्दै हिँडेकी निर्मलाको ११ साउनमा घर नजिकैको उखुबारीमा शव भेटिएको थियो । त्यसयता प्रहरीले बलात्कार तथा हत्याको आशंकामा अनुसन्धानका लागि लिएका स्केच नमिलेको प्रहरीले जनाएको छ ।

कुनै व्यक्तिमाथि कसैले शंका गर्दा प्रहरीले त्यसमा सूक्ष्म निगरानी राखी स्केच बनाएरै अनुसन्धान गर्दै आएको जनाएको छ तर हालसम्म कसैको पनि स्केच म्याच भएको छैन । हालसम्मको अनुसन्धानका क्रममा प्रहरीले करिब डेढ दर्जन व्यक्तिको स्केच बनाइसकेको छ भने हत्याको आशंकामा १ हजार भन्दा बढीलाई सोधपुछ गरिसकेको छ ।

अहिले पनि बलात्कार तथा हत्याबारे अनुसन्धान गर्न कञ्चनपुर पुगेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीसहित स्थानीय प्रहरी टोली र स्केच बनाउन खटिएको विशेष टोलीले संयुक्त रूपमा हत्या प्रकरणको अनुसन्धान जारी राखेको जनाउँदै आएको छ ।

समय जति घर्किंदै गईरहेको छ घटना पनि सेलाउँदै गएको छ । यसले घटनामा संलग्न भएका व्यक्ति ठूलै राजनीतिक संरक्षण पाएको छ भनेर अनुमान लगाउन खासै समस्या छैन । सरकार हत्यारा पत्ता लगाउन लागिपरेको बताईरहेको छ भने सर्वसाधारण सरकारको चर्को आलोचना गरिरहेका छन् । ‘निर्मलाका निम्ति न्याय’ अभियान देशब्यापी रुपमा फैलिए पनि अहिले यो पनि निश्क्रिय जस्तै छ ।

निर्मला काण्डले थुप्रै घटना परिघटनाहरु जन्माए र अस्ताए तर पनि घटना रहस्यको गर्भमै लुकेको छ । २ वर्ष बितिसक्दा समेत अपराधी सार्वजनिक गर्न नसक्दा सिंगो प्रहरी प्रशासनमाथि नै कालो धब्बा लाग्न थालेको छ । प्रहरीमाथि घटनाको प्रमाण नष्ट गरेको, सज्जन ब्यक्तिलाई अपराधी घोषणा गरेको, बर्खास्तीमा परेका प्रहरीहरुमाथि गहिरो अनुसन्धान नगरेको लगायतका आरोपहरु लाग्दै आएका छन् । यससँगै अर्को गम्भिर प्रश्न पनि उठेको छ , के अब निर्मला पन्तले न्याय पाउँछिन् ?

Skip This
Skip This
Logo