नायिका शाहविरुद्ध बेइज्जति मुद्दा, पाउलान् त भुवनले १० करोड ?

नायिका शाहविरुद्ध बेइज्जति मुद्दा, पाउलान् त भुवनले १० करोड ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौँ जिल्ला अदालतमा नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध बेइज्जति सम्बन्धी मुद्दा दर्ता गरेका छन् ।

नायिका शाहले दुर्व्यवहारको आरोप लगाइ आफ्नो चरित्र हत्या गरेको उल्लेख गर्दै १० करोडको क्षतिपूर्तिको मागसहित नायक केसीले मुद्दा दर्ता गरेको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए।

मुलुकी अपराध संहिता, २०६४ को गाली बेइज्जति सम्बन्धी कसूरको बेइज्जति गरेमा हुने सजाय (१) मा कसैले कसैको बेइज्जति गरे वा गराइमा निजलाई दुई वर्षसम्मको कैद वा २० हजारसम्मको जरिवाना वा दुवै हुने व्यवस्था छ । तर विद्युतीय माध्यमबाट वा अन्य आमसञ्चारका माध्यमबाट बेइज्जति गरे वा गराएमा निजलाई त्यस्तो सजायको थप एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

बेइज्जति गरेमा हुने सजाय (२) मा कसैले कसैलाई बेइज्जति गरे वा गराएको ठहरिएमा बेइज्जति गरिएको व्यक्तिलाई कसूरको गम्भीरता, त्यस्तो व्यक्तिको प्रतिष्ठामा पर्न गएको असर तथा विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट बेइज्जति गरेको भएमा त्यस्तो कुरासमेतलाई विचार गरी कसूरदारबाट मनासिब क्षतिपूर्ति र त्यस्तो व्यक्तिलाई कसूरदारबाट मुद्दामा लागेको खर्चसमेत भराउनु पर्नेछ भन्ने व्यवस्था छ ।

सूचना अधिकारी कार्कीका अनुसार नायक केसीले यही व्यस्थालाई टेकेर रु १० करोड क्षतिपूर्ति माग गरेका हुन् । नायक केसीले आफ्नो चरित्र हत्या गरेको आरोप लगाउँदै नायिका शाहले कलाकार सङ्घमा उजुरी दिएकी थिइन् । नायिका शाहले चलचित्रमा काम गर्ने क्रममा दुर्व्यवहार गरेको आरोप लगाएपछि विवाद चलचित्र सङ्घ हुँदै अदालतमा पुगेको हो ।रासस

Logo