सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहौँ- राष्ट्रपति पौडेल

सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहौँ- राष्ट्रपति पौडेल

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका अपार स्रोत, सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिएका छन् । 

नव वर्ष २०८० को उपलक्ष्यमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले व्याप्त निराशालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरी श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने उल्लेख गरेका छन्।

उनले भने, “सार्वभौमिक सत्ता सम्पन्न जनताका प्रतिनिधिहरूबाट निर्मित विधि र पद्धतिबमोजिम संसदीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था चल्ने चलाउने भन्ने नै संवैधानिक राष्ट्रिय प्रतिज्ञा र घोषणा भएकाले मुलुक सोहीअनुरूप अघि बढ्नु पर्दछ भन्नेमा मेरो प्रतिबद्धता छ ।”

राष्ट्रपति पौडेलले संवैधानिक कर्तव्य र जिम्मेवारी पूरा गर्दा वा जुनसुकै कार्य पनि लोकतान्त्रिक मूल्य, मान्यता र परम्परालाई आत्मसात् गरे मात्र मुलुकमा शान्ति, विकास र समृद्धि कायम भई समाजवादतर्फ उन्मुख हुने विश्वाससमेत व्यक्त गरेका छन्।

“तर, जो कसैको पनि स्थापित विधि विपरीतको सक्रियता तथा कुनै निहित स्वार्थ प्राप्तिको आतुरताले बामे सर्दै अघि बढेको लोकतान्त्रिक परिपाटी मजबुत हुँदैन, त्यसतर्फ हामी सबै सचेत हुनुपर्दछ । पारदर्शिता, जवाफदेहिता र सुशासन लोकतन्त्रका आधार स्तम्भ हुन, यिनै अवयवको सही कार्यान्वयनबाट नै लोकतन्त्रप्रति जनताको भरोसा जागृत हुनेछ भन्ने मेरो दृढ विश्वास छ”, शुभकामना सन्देशमा भनिएको छ ।

Skip This
Skip This
Logo