पूर्वगभर्नर तथा राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले नेपाली युवा अरुको नोकर हुन उत्साहित हुने गरेको बताएका छन् ।
उडान शैक्षिक केन्द्रको केन्द्रीय कार्यालयको शुभारम्भको अवसरमा पूर्वगभर्नर नेपालले नेपालमा उत्पादन गरेर बस्न सक्ने वस्तुको लागि छिमेकी देशको भर पर्ने र देशका युवा विदेशीको नोकर हुन उत्साहित हुने प्रवृत्ति बढेको गुनासो गरेका हुन् ।
उनले भने ‘हाम्रो देशमा उत्पादन गर्न सकिने वस्तुहरुको लागि पनि हामी अरुको भर पर्ने गरेका छौँ किनभने हामी अरुको नोकर हुन उत्साहित हुन्छौँ । विदेशमा गएर काम गर्नभन्दा आफ्नै केही गरौँ भन्नेमा छैनौँ ।’
पूर्वगभर्नर नेपालले जागिर भनेको गरेर खाने काम मात्र भएको भन्दै शीर उठाएर बस्ने हो भने अरुलाई जागिर दिने व्यवसाय गर्नुपर्ने बताए । उनले यसका लागि अध्ययन आवश्यक भएको बताए ।
नेपाली जनता कतार,मलेसियालगायतका मुलुकहरुमा गएर विकासको काम गर्न सक्ने तर देशका लागि केही नगर्ने प्रवृत्तिलाई हटाउनुपर्ने पूर्वगभर्नर नेपालको सुझाव छ । व्यापार व्यवसाय वा ठूलो पदमा काम गर्नको लागि स्रोतको आवश्यकता पर्छ भन्ने सोच गलत भएको भन्दै उनले आफ्नो क्षमता आफैले विकास गर्नुपर्ने बताए ।





























प्रतिक्रिया