नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले पदभार ग्रहण गरेका छन् ।
महासङ्घको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार गत चैत २८ र २९ गते काठमाडौँमा सम्पन्न ५७औँ साधारणसभा मार्फत महासङ्घको २०औँ अध्यक्षमा निर्वाचित भएका ढकालले आज पदभार ग्रहण गरेका हुन् । पद तथा गोपनीयताको शपथ भने ढकालले निवर्तमान अध्यक्ष शेखर गोल्छामार्फत् सोही दिन नै लिइसकेका छन् ।
महासंघको नवनिर्वाचित अध्यक्षको रुपमा ढकालले अबको कार्यकालमा पाँच वटा विषयहरु पहिलो–वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने,दोस्रो–लगानीको वातावरण बनाउने, तेस्रो– राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, चौथो– दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने,र पाँचौ– व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने कामलाई प्राथमिकतामा राखेको उल्लेख गरिसकेका छन् ।
नवनिर्वाचित अध्यक्ष ढकाल पहिलो पुस्ताका सफल उद्यमी-व्यवसायी हुन् । महासङ्घमा दुई कार्यकाल कार्यकारिणी समिति सदस्य रहेका ढकालले लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।































प्रतिक्रिया