संकटपूर्ण अर्थतन्त्रदेखि वित्तीय संस्थाविरुद्धकाे आन्दोलनसम्म[भिडियोसहित]

संकटपूर्ण अर्थतन्त्रदेखि वित्तीय संस्थाविरुद्धकाे आन्दोलनसम्म[भिडियोसहित]

केन्द्रबिन्दु
0
Shares

२०७९ सालमा मुलुकको अर्थतन्त्रमा निकै उतार चढाव आयो । यस वर्ष मुलुकको अर्थतन्त्र निकै प्रभावित भयो । तरलता अभाव, बजार महँगी, बैंकको ब्याजदरमा बृद्धि, राजस्व संकलनमा गिरावट र चालु खर्च बृद्धि भएसँगै  देशको समग्र अर्थतन्त्र प्रभावित भई आम नागरिकले शास्ती भोग्नु पर्यो । 

कोभिड–१९ को महामारी, रुस युक्रेन युद्धले निम्त्याएको महँगी र आर्थिक गतिविधिमा कमी आउँदा नेपाल राष्ट्र बैंक कसिलो मौद्रिक नीति लिन बाध्य भयो । आर्थिक मन्दीले घटेको व्यापार र आयात प्रतिबन्धका कारण यस वर्ष इतिहासकै कमजोर आर्थिक अवस्थाबाट मुलुक गुज्रियो । 

२०७९ सालमा विभिन्न आर्थिक घटना घटेका छन् । आम निर्वाचन २०७९ सँगै परिवर्तन भएको सरकारमा एकै वर्ष तीन जना अर्थमन्त्री फेरिए । यसै वर्ष नेकपा एमालेको एउटा विभागमा सामेल गरिएका एम.अधिकारीलाई लिएर बहालवाला गभर्नरको विषय चर्चामा आयो । अर्कोतर्फ अर्थमन्त्री जनार्दन शर्माले नयाँ बजेट निमार्णका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गरेको आरोप र अर्थ मन्त्रालयको सीसीटीभी क्यामराको फुटेज मेटिएको विषयले पनि निकै चर्चा पायो ।

यस्तो छ २०७९ सालको मुख्य घटनाक्रम

  • तीन अर्थमन्त्री 

यसवर्ष देशले तीन जना अर्थमन्त्री पायो । २०७९ को सुरुवातमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थ मन्त्रालयको जिम्मेवारी जनार्दन शर्माले गरे। मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएलगत्तै एमालेको सहयोगमा बनेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा विष्णुप्रसाद पौडेल अर्थमन्त्री बने । तर, दुई महिना पनि टिकेन । माओवादीले एमालेको साथ छाड्यो र अहिले कांग्रेससँगको सहकार्यमा बनेको सरकारमा डा. प्रकाशशरण महत अर्थमन्त्री छन् । 

  • अर्थतन्त्रमा संकट 

यो वर्ष मुलुकको अर्थतन्त्रले निकै संकट खेप्यो । विश्व आर्थिक मन्दी, रुस–युक्रेन युद्ध, आयात निर्यातमा गिरावट र उत्पादनमा आएको कमीको प्रभावले अर्थतन्त्र संकटको डिलमा पुग्यो। महँगी उच्च बन्दा आयातले विदेशी मुद्राको सञ्चितिमा दबाब पर्यो । उच्च आयात नियन्त्रण गरी अर्थतन्त्रमा सुधार ल्याउन सरकारले विलासी वस्तु, गाडी, मोबाइल, टेलिभिजनसँगै अतिरिक्त खेलौना तथा जङ्कफुडमा पूर्णतः आयात प्रतिबन्ध लगायो र १३ महिनापछि माघ महिनाबाट मात्रै प्रतिबन्ध हटायो । अर्थतन्त्र बचाउन गरिएको आयात प्रतिबन्धले संकटझन चुलियो । आयात प्रतिबन्धकै कारण राजस्व संकलन ५५ वर्ष यताकै न्यून विन्दुमा पुग्यो । त्यसको परिणाम स्वरुप सरकारी खर्च घाटामा पुग्यो । चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा सरकारी खर्च २ खर्ब हाराहारी पुगेको छ ।

  • तरलता अभाव 

यस वर्षभरी नै बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकम (तरलता) अभावको समस्या आयो । २०७९को सुरुको महिनामा आक्रामक कर्जा विस्तार गरेपनि निक्षेप संकलनमा गिरावट आएपछि वित्तीय संस्थाहरु ऋण प्रवाह गर्न नसक्ने अवस्थामा पुगे । त्यसपछि संस्थाहरु निक्षेप संकलनमा केन्द्रित रहेका थिए । अहिले निक्षेपमा सुधार आउँदा वर्षको अन्तिममा बजारमा तरलता सहज बन्दै गएको छ । 

  • वित्तिय संस्थाविरुद्ध आन्दोलन

इतिहासमै पहिलो पटक उद्योगी, व्यवसायी र बचतकर्ताहरु बैंक तथा वित्तीय संस्थाविरुद्ध सडक संघर्षमा उत्रिनेदेखि उजुरी दर्तासमेत गर्न पुगे । तरलता अभावलाई देखाएर बैंकहरुले कर्जाको ब्याजदर बढाएसँगै उद्योगी व्यवसायीहरू आन्दोलित भएका हुन् । अर्कोतर्फ, समस्याग्रस्त अर्थतन्त्रका कारण सहकारी, लघुवित्तका ऋणीहरू र बचतकर्ताहरु समेत सडकमा उत्रिने वातावरण बनेको छ । यसैबीच देशभर सयौँ सहकारी संस्थाहरु बचतकर्ताको बचत फिर्ता नगरी भाग्ने गतिविधिहरु बढेको छ । 

  • खराब कर्जा बृद्धि

बजारमा आर्थिक कारोबार ठप्प भएर बैंक तथा वित्तिय संस्थाले प्रबाह गरेको ऋण उठ्न नसकेपछि खराब कर्जा बढ्दै गएको छ । खराब कर्जा वृद्धि हुँदा वित्तीय क्षेत्र निकै प्रभावित भएको छ । यसका साथै, बैंकको साबाँ र ब्याज नतिर्ने घोषणा गर्दै विभिन्न आन्दोलन र बैंकमाथि आक्रमण भएका जस्ता घटना यसै वर्ष घटेको छ । 

  • कसिलो मौद्रिक नीति

आर्थिक मन्दीका कारण अर्थतन्त्रमा दबाब बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कसिलो बनाएको थियो । उच्च शोधनान्तर घाटा र घट्दो विदेशी मुद्रा सञ्चितिका कारण राष्ट्र बैंकले कसिलो मौद्रिक नीति निकाल्दै कर्जा घटाउने नीति लिएको थियो । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दासम्म राष्ट्र बैंक कसिलो नीतिमा नै अडिग छ । 

  • दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

यस वर्ष गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निमार्ण सम्पन्न भई सञ्चालनमा आए । भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जेठ २ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आयो भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पुस १७ गतेबाट व्यवसायिक उडान सुरु भयो । गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय नियमित उडान भएपनि पोखरा विमानस्थलबाट भने हालसम्म कुनै पनि अन्तर्राष्ट्रिय उडान भएको छैन् । गौतम बुद्ध विमानस्थल ७ वर्षमा करिब ३२ अर्ब रुपैयाँ र पोखरा विमानस्थल ५ वर्षमा २३ अर्ब रुपैयाँ लगानीमा सम्पन्न भएको हो । 

  • सेयर बजार

२०७९ सेयर बजारको लागि त्यति सुखद रहेन् । बजारमा तरलता अभाव, नेपाल राष्ट्र बैंकको नीति र व्याजदर बृद्धिका कारण बजार निरन्तर ओरालो लागेको हो । यस वर्ष सेयर बजारमा नेप्से परिसूचक २ हजार ४ सय ४४ दशमलव ५५ सबैभन्दा उच्च बिन्दु र १ हजार ८ सय १५ दशमलव १४ सबैभन्दा कम बिन्दु रहेको छ । यस वर्ष ६ खर्ब १२ अर्ब रुपैयाँ बजार पूँजीकरण घटेको छ । बैशाखमा ३४ खर्ब २६ अर्ब रुपैयाँ बजार पूँजीकरण घटेर चैत महिनाको अन्तिम कारोबार दिनको आधारमा हेर्दा २८ खर्ब १३ अर्ब रुपैयाँमा झरेको छ । नेप्से सूचकमा निरन्तर गिरावट आएपनि बजार प्रवेश गर्ने कम्पनीको संख्यामा उल्लेख्य बृद्धि भएको छ । ५ खर्ब रुपैयाँ भन्दा धेरै पूँजीको साधारण शेयर निष्काशन गरी ५५ कम्पनी बजारमा प्रवेश गरेको छन् । वर्षको अन्तिम कारोबार दिन पनि बजार २९ अंकले घटेर बन्द भएको छ ।

Logo