नेपाल-ओमान महा-भिडन्त [भिडियाेसहित]

नेपाल-ओमान महा-भिडन्त [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

एसिसी प्रिमियर लिग अन्तर्गत नेपालले दोस्रो खेलमा शुक्रबार ओमानसँग प्रतिस्पर्धा गर्दैछ । काठमाडौँमा जारी प्रतियोगितामा विजयी सुरुवात गरेका दुबै टोली जितलाई निरन्तरता दिँदै अंक तालिकामा शीर्ष स्थानमा उक्लने योजनामा त्रिवि क्रिकेट मैदानमा उत्रिनेछन् । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई ६ विकेटले र ओमानले कतारलाई ४० रनले हराएका थिए । 

नेपालले ओमानविरुद्ध पछिल्लो समय खेलेको विश्वकप लिग–२ को खेलमा सबै ४ खेल हारेको थियो । प्रतियोगिताको दावेदार मानिएको ओमान र नेपाल अहिलेसम्म ओडिआई क्रिकेटमा ६ पटक भिडेका छन् । जसमा नेपालले २ खेलमात्रै जितेको छ । टी–२० मा भने नेपाल बलियो छ । ओमानविरुद्धका ४ टी-२० मध्ये ३ खेलमा नेपाल विजयी भएको थियो । 

लिग–२ अन्तर्गतको विश्वकप छनौटमा शीर्ष तीन भित्र रहँदै जिम्बाब्बे यात्रा तय गरेका दुई राष्ट्र नेपाल र ओमानबीचको यो भिडन्तलाई फाइनलसरह ठानिएको छ ।

अन्तर्राष्ट्रिय एकदिवसीयका पछिल्ला १३ खेलमध्ये १२ मा जित निकालेर सनसनी मच्चाएको नेपाललाई सहजरुपमा नतिजा सुम्पिन भने ओमान तयार देखिँदैन । तर एसिसी प्रिमियर कप अघि त्रिवि क्रिकेट मैदानमा भएको मैत्रीपूर्ण खेलमा भने नेपालले ओमानलाई ५ विकेटले हराएको थियो। 

शुक्रबारको खेल नेपालका लागि यसकारण पनि महत्वपूर्ण छ कि । यो नेपालका लागि ५०औँ एकदिवसीय मान्यता प्राप्त खेल हो । जुन आफैमा नेपाल जस्तो एसोसिएट्स राष्ट्रका लागि ठुलो कुरा हो । अर्कोतर्फ स्पिनर सन्दीप लामिछाने पनि ओडिआई क्रिकेटमा सबैभन्दा कम खेल खेल्दै विश्व रेकर्ड राख्नबाट १ विकेटले मात्र पछि छन् ।

यदि सन्दीपले शुक्रबारको खेलमा ओमानविरुद्ध एक विकेट मात्र लिन सफल भए पनि अफ्गानिस्तानका स्पिन बलर राशिद खानले सन् २०१८ मा ४४ खेल खेल्दै बनाएको एक सय विकेट पूरा गरेर रेकर्ड आफ्नो नाममा लेखाउनेछन् । उनले ४२ खेलमै उक्त आकडा पूरा गर्नेछन् । ओमानविरुद्धका ६ खेलमा सन्दीपले ९ विकेट लिइसेका छन् । 

नेपालले ओमानविरुद्ध अन्तिम आधिकारिक खेल सन् २०२२ को जुन मा खेलेको थियो  । सो खेल नेपालले ७ विकेटले जितेको थियो । ओमानविरुद्ध नेपाल जितको यात्रा कायम राख्ने योजनामा हुँदा ओमान बद्लाको भावनासहित मैदान उत्रनेछ ।

ओमानविरुद्ध करण केसी नेपालका तर्फबाट सबैभन्दा सफल विकेट टेकर खेलाडी हुन् उनले अहिलेसम्म ओमानविरुद्ध २० विकेट लिएका छन् । 
शुक्रबार नै समूह बीको खेलमा यूएई र हङकङबीच खेल हुनेछ । दुवैले आफ्नो पहिलो खेलमा जित निकालेका थिए । यी दुईबीचको खेल भने मुलपानी क्रिकेट मैदानमा हुनेछ । 

जारी वर्ष नेपालले घरेलु मैदानमा खेलेका ९ खेलमै जित हासिल गरेको छ । सबै खेलमा नेपालले  २५० को एभरेज रन बनाएको थियो । ब्याटिङमा विशेष दख्खल भएका भारतीय प्रशिक्षक मोन्टी देशाईको आगमनपछि नेपालको ब्याटिङ पछिल्ला सबै खेलमा सुधारिएको छ ।

कोच देशाईका अनुसार नेपाली खेलाडीले अझैँ आफ्नो फुल पोटेन्सियलमा खेल्न सकेको छैन् । शुक्रबार हुने खेल धेरै अर्थमा नेपालको संयमित ब्याटिङविरुद्ध ओमानको आक्रामक ब्याटिङ हुने सम्भावना छ । तर शुक्रबार हुने खेलमा जुन टोलीले संयमित भई आफ्नो फुल पोटेन्सियलमा खेल प्रदर्शन गर्ला उसैले नतिजा आत्मसात गर्नेमा कुनै शंका छैन् ।

नेपाली टोली–

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी र ललित राजवंशी ।  ओमानी टोली–जिशान मकसुद (कप्तान), अकिब इलियास, जय ओडेडेरा, कलिमुल्लाह, शोएब खान, कश्याप प्रजापति, अदिल शफिक, जतिन्दर सिंह, मोहम्मद नदिम, सन्दीप गौड, बिलाल खान, आयन खान, नसिम खुसी र फैज बुट । 

Skip This
Skip This
Logo