१४ करोड कुम्ल्याएर अध्यक्ष भागेपछि सहकारी सञ्चालकनै पीडित !

१४ करोड कुम्ल्याएर अध्यक्ष भागेपछि सहकारी सञ्चालकनै पीडित !

केन्द्रबिन्दु
0
Shares

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी १४ करोड रुपैयाँ रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् ।

दौपदा बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष तथा पुण्यश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक रामेछापको गुन्सीभदौरे-७ घर भई बनेपामा बस्दै आएका ३० वर्षीय कुमार गौतम दुई  सहकारीबाट १४ करोड लिएर फरार भएपछि दुवै सहकारीका सञ्चालक नै पीडित बनेका छन् । दौपदाका अन्य सञ्चालकका अनुसार उक्त सहकारीको करिब पाँच करोड रकम अपचलन भएको छ। 

सोही सहकारीका सञ्चालक समितिका उपाध्यक्ष झम्कप्रसाद गौतमको ६५ लाख र उनका दाजु देवीप्रसाद गौतमको ५१ लाखसमेत गौतमले लिएर फरार भएको बताइएको छ । गौतम प्रमुख कार्यकारी अधिकृतसमेत रहेको पुण्यश्वर सहकारीको चौँरीदेउराली र पाँचखाल सेवा केन्द्रमा बचत गर्ने बनेपा नगरसहितका सात हजार दुई सय सदस्यको नौ करोड रकम गौतमले नै खर्च गरेर महिनौँदेखि बेपत्ता भएको पीडितको निवदेनमा उल्लेख छ । 

गौतमका साथै सो सहकारीका सचिव गङ्गाबहादुर तामाङ, अमृत गौतम, टीकालाल श्रेष्ठलगायत ३१ बचतकर्ताले बनेपा नगरपालिका कार्यालय, सहकारी विभाग, जिल्ला प्रशासन, प्रहरी कार्यालयलगायतका स्थानमा उजुरी दिएका छन् ।

विसं २०७९ पुस २६ गते जिल्ला प्रशासन कार्यालयमा पुण्यश्वर सहकारीले बचत फिर्ता नदिई कार्यालयसमेत बन्द गरेर भागेकाले आवश्यक गरिपाउँ भनी निवेदन दिएको पाइएको छ । 

पीडितले हेटौँडास्थित बागमती प्रदेशको सहकारी मन्त्रालयमा समेत निवदेन दिएका छन् । सोही निवेदनका आधारमा मन्त्रालयले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई खोजकार्य तथा आवश्यक कारबाहीका लागि पत्राचार गरेपछि फरार गौतम तथा सहकारीबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo