संसारमा एउटा यस्तो ठाउँ छ जहाँ संसारभरका जोडीहरू चुम्बन गर्नकै लागी भनेर आउँछन् र आफ्नो पालो कुर्न लाइनसमेत बस्छन्। विशेष स्थानमा उभिएर चुम्बन गर्नको लागि घण्टौँ लाइनमा बस्ने कुरा पत्याउन गाह्रो छ । आखिर किन यो ठाउँमा प्रेमिल जोडिहरु चुम्बनको लागि लाममा बस्छन् । किन मानिसहरू यो ठाउँलाई किस स्ट्रीट भन्छन् ? आउनुहोस् जानौँ-
यस्तो छ मान्यता
प्रेमले मानिसहरूलाई के गर्न बाध्य पार्दैन ? वर्तमान समयमा तत्काल विवाह र तत्काल सम्बन्धविच्छेद हुन थालेकाले प्रेममा हुने असुरक्षालाई लिएर संसार निकै चिन्तित छ । कतिपयले त प्रेममा विश्वासै नगर्ने अवस्था छ । तर मेक्सिकोको गुआनाजुआतोस्थित किस स्ट्रीटमा चुम्बन गर्नाले दम्पती कम्तीमा १५ वर्षसम्म खुसी रहन्छन् भन्ने विश्वास गरिन्छ । यहाँ प्रायः भ्यालेन्टाइन डेको अवसरमा मानिसहरु आउने गर्दछन् । यहाँ एउटा सानो गल्ली छ जसलाई किस स्ट्रीटको नाम दिइएको छ । जहाँ मानिसहरू लाइनमा बस्छन् र चुम्बनको लागि आफ्नो पालोको उत्सुकतापूर्वक प्रतीक्षा गर्छन्।
के हो रहस्य ?
हरेक परम्परा तथा विश्वासको पछाडि कुनै न कुनै इतिहास र कथा लुकेको हुन्छ । धेरै वर्ष पहिले त्यहाँ दुई प्रेमीहरू बस्थे,जो एकअर्कालाई औधी माया गर्थे। युवकको नाम लुईस र युवतीको नाम डोना कारमेन थियो। डोना धनी परिवारकी थिइन् भने लुईस गरिब परिवारका थिए। डोनालाई भेट्न लुईसले डोनाको घर नजिकै एउटा कोठा भाडामा लिएका थिए । त्यहाँ दुवै राति अबेरसम्म भेट्थे । एक दिन डोनाका बुवाले यो कुरा थाहा पाए र अबदेखि नभेट्नु भन्दै छोरीलाई गाली गरे ।
अर्को दिन उक्त गल्लीमा मध्यरातमा डोना र लुईस चुम्बन गरिरहेको अवस्थामा भेटिएपछि डोनाका बुवाले रिसको झोकमा आफ्नै छोरीको हत्या गरे । डोनालाई बचाउन लुईसले बालकाेनीबाट हाम फाले, तर उनको पनि मृत्यु भयो । यो घटनापछि डोनाका बुबाले आफूले जघन्य अपराध गरेको पश्ताचाप गरे । एक/दुई वर्षपछि मानसिक सन्तुलन गुमेका कारण उनको पनि मृत्यु भयो । भनिन्छ, त्यसपछि दुई युवा प्रेमी डोना र लुइसको आत्मा त्यहीँ घुमिरहन्छ । उनीहरुको आत्माले त्यहाँ आएर चुम्बन गर्ने जोडीहरूलाई खुशी रहन आशीर्वाद दिन्छन् ।





























प्रतिक्रिया