काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा एडु क्लेभ १.० कार्यक्रम सुरु भएको छ । इक्यान र वान अपले वेद इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको सहकार्यमा उक्त कार्यकम आयोजना गरेको हो ।
कार्यक्रममा विशेषगरी शिक्षा प्रणाली नयाँ दृष्टिको, वैदेशिक शिक्षाकाे अवसर वा जोखिम र वैदेशिक शिक्षाको प्रभावलगायत विषयमा छलफल भइरहेको छ । यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व बैंकर अनिल केशरी साह सहभागी रहेका छन् ।
सरकारले विदेश पढ्न जाने विद्यार्थीका लागि जारी गरिने नो अब्जेक्सन लेटर (एनओसी)लाई व्यवस्थित गर्न ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका -२०७९’ बैशाख १३ गते जारी गरेको थियो । निर्देशिका विद्यार्थीको हकहितमा नभएको भन्दै यो क्षेत्रमा आवद्ध व्यवसायीहरुले विरोध जनाउँदै आएका छन् ।
निर्देशिका सार्वजनिक गर्नुभन्दा अगाडि कक्षा १२ पछिको डिप्लोमा, एड्भान्स डिप्लोमा (स्नातक गर्नुभन्दा अघि, ब्रिजकोर्ष) गर्न जानेलाई एनओसी नदिने उल्लेख थियो । त्यसको चौतर्फी विरोध र दबाबपछि सरकारले उक्त प्रावधानलाई संशोधन गरी अर्को निर्देशिका सार्वजनिक गरेको थियो । निर्देशिकामा उच्च शिक्षा भन्नाले कक्षा १२ वा सो सरहभन्दा माथिल्लो तहको शिक्षालाई भनेको छ ।
व्यवसायीहरुले निर्देशिका नेपालको संविधान, मौलिक हक तथा अन्तर्राष्ट्रिय मान्यताविपरीत भएको भन्दै खारेजीको माग राखेका छन् । जुनसुकै देशमा होस् या स्वदेशमा विद्यार्थीको ईच्छा अनुसारको शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरिएको तर, सरकार विभिन्न बहानामा डोरी लगाई विद्यार्थीहरु तथा शैक्षिक परामर्श व्यवसायीहरुलाई बन्धनमा राख्न खोजिरहेको नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघले जनाएको छ । निर्देशिकामा भाषा शिक्षा र शैक्षिक स्तरको अध्ययन गर्न विदेश जाने विद्यार्थीलाई एनओसी नदिने उल्लेख गरेको छ ।
कार्यक्रममा सरकारले एनओसी दिने क्षेत्र खुम्च्याएपछि इक्यान र वान अपले वेद इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको सहकार्यमा वैदेशिक शिक्षाको बारेमा छलफल गर्न आयोजना गरेको हो ।































प्रतिक्रिया