‘दोषीलाई कारबाही हुनुपर्छ, तर सांसदलाई हिँड्दाहिँड्दै समाउनु रहस्यमय’ -अध्यक्ष ओली

‘दोषीलाई कारबाही हुनुपर्छ, तर सांसदलाई हिँड्दाहिँड्दै समाउनु रहस्यमय’ -अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न दोषीलाई कारबाही हुनुपर्ने बताएका छन् ।

बिहीवार सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर बाहिरिने क्रममा सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष ओलीले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा निर्दोष पर्न नहुने र दोषीलाई उम्क दिन नहुने बताएका हुन् । 

‘नक्कली भुटानी शरणार्थीबारे निर्दोष पर्न भएन, दोषी उम्कन हुँदैन,’ उनले भने, ‘दोषी उम्काउने हाम्रो प्रयास हुँदैन।’

तर, उनले बहालवाला सांसदलाई बाटोमै पक्राउ गर्नु रहस्यमय भएको टिप्पणी गरेका छन् । ‘एउटा सांसद, उपप्रधानमन्त्री भइसकेको पार्टीको नेता षड्यन्त्रपूर्ण ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनु रहस्यपूर्ण छ । भागेर जाने कुरा होइन ।’ उनले भने ।

शरणार्थी प्रकरणमा नेकपा एमालेका सचिवसमेत रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । तर उनी हाल फरार छन् । उनका छोरा सन्दीपलाई भने पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ । 

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोजेको आरोपमा धमाधम भिआइपीहरु पक्राउ परिरहेका छन् । बुधवार सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिएको थियो, उनलाई ३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिइसकेको छ । 

Logo