सत्ता गठबन्धनको बैठकमा भोलिदेखि सुरु हुने बैठकमा प्रस्तुत गर्न लागिएको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल भएको छ ।
प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा शनिबार साँझ सम्पन्न बैठकपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भोलिदेखि शुरु हुने संसदलाई कसरी व्यवस्थित बनाउने भन्ने बारेमा कुरा भएको बताए । ‘भोलिकै बैठकमा सरकारका सिद्धान्त र प्राथमिकताबारे प्रस्तुत गर्ने कार्यक्रम छ ।’ उनले भने ।
आजको बैठकमा कानून व्यवसायीलाई पनि बोलाइएको विषयमा उनले नागरिकता विधयेक, शिक्षा विधेयक लगायतका विधेयक कसरी अघि बढाउने र सर्वोच्चको प्रधानन्यायधिस नियुक्ती लगायत विभिन्न कानूनविद्हरुबीच छलफल भएको बताए ।
त्यस्तै अहिले सरकारले विश्वासको मत लिनु आवश्यक नहरेको बताए । उनले भने ‘अहिले सरकारले विस्वासको मत लिनु पर्ने व्यवस्था छैन् । त्यसबारे कुनै कुरा भएन ।’
बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणको बारेमा पनि छलफल भएको प्रमुख सचेतक पाण्डेले बताए । सरकारले दृढतापूर्वक यो विषयलाई अघि बढाउने सहमति भएको उनको भनाई छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड र नेकपा(माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङ र नेता शक्तिबहादुर बस्नेत सहभागी थिए । यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र उपसभापति धनराज गुरुङ, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल सहभागी थिए ।
त्यस्तै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतको सहभागिता थियाे ।































प्रतिक्रिया