संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने सर्वोच्च निकाय हो। संसदीय व्यवस्थामा संसद्को निकै ठूलो महत्व र गरिमा छ। तर, बेलाबेला संसदभित्र सांसदले अमर्यादित र अराजक व्यवहार देखाउँदै आएका छन् ।
तर, पनि संसदले सांसदको गतिविधिलाई बेवास्ता गर्दै आएको छ। विरोध गर्नै नपाइने भने पक्कै हैन तर त्यसमा संसदीय मर्यादा भित्र रहनुपर्छ। अमर्यादित क्रियाकलापले कहिलेकाँही संसदीय व्यवस्थाको अपमान हुने गरेको छ। आजको अंकमा हामी २०५० सालयता संसदमा सांसदले देखाएका केही अमर्यादिन घटनाबारे चर्चा गर्नेछौँ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपालको संसदीय इतिहासमै पहिलो घटना भयो। बोल्न समय नदिएको भन्दै विरोध गरेका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बैडकमै कपडा खोले। स्टकोट, सर्ट र भित्री वस्त्र खोलेका उनी केहीबैर संसद ग्यालरीमै अर्धनग्न बनेका थिए।
सभामुख घिमिरेले सुव्यवस्था कायम गर्न सदस्यले पालना गर्नुपर्ने नियमप्रति ध्यानाकर्षण गराउँदै कारबाहीको चेतावनी दिएपछिमात्र उनी शान्त बने। उनको अराजक हर्कतले प्रतिनिधिसभा बैठक करिब पाँच मिनेट तनावपूर्ण बन्यो। संसदमा सांसदले यस्तो रवैया देखाएको यो पहिलोपल्ट भने होइन।
२०५० साल साउन ६ गते राष्ट्रियसभामा वर्तमान राष्ट्रपति तथा तत्कालीन स्थानीय विकासमन्त्री रामचन्द्र पौडेलमाथि सांसद गोल्छे सार्कीले हातपात गरेका थिए। विशेष समयमा मन्तव्य दिएर फर्कने क्रममा सार्कीले आफ्नै स्थानमा बसिरहेका पौडेललाई थप्पड हानेका थिए।
त्यसपछि सार्कीलाई सात दिन निलम्बन गरिएको थियो। २०५० साल भदौ २१ गते सदनमा नारा नलगाउन गरेको आग्रहविपरीत रोस्ट्रम नै कब्जा गरेपछि रामेश्वर राय यादवलाई राष्ट्रियसभाको बैठक कक्षबाट निकालिएको थियो। २०५३ साल भदौ २ मा प्रतिनिधिसभामा बोल्ने स्थानबारे विवाद हुँदा सभामुख रामचन्द्र पौडेलले सांसद हृयदेश त्रिपाठीलाई बाहिर निकाल्न मर्यादापालकलाई निर्देशन दिएका थिए । रोस्ट्रम प्रयोगको अनुमति नपाएपछि रोस्ट्रमअघि गएर उभिएका त्रिपाठीलाई अभद्र व्यवहारको कारबाही गरिएको थियो।
जनआन्दोलनबाट पुनर्स्थापित प्रतिनिधिसभाको बैठकमा माओवादीका सांसद लोकेन्द्र विष्ट बन्दुकसहित उपस्थिति भएपछि केहीबेर बैठक स्थल तनावपूर्ण बनेको थियो ।
भरखर शान्तिपूर्ण राजनीतिमा आएको माओवादी सांसदले आफ्नो सुरक्षाका लागि भन्दै बन्दुक राख्न पाउनु पर्ने अडान लिएका थिए । पछि सभामुख र माओवादीसहितका नेताहरुले सम्झाएपछि उनी बन्दुक बिनै बैठकमा बस्न राजी भएका थिए ।
२०६४ सालमा संविधानसभाको पहिलो बैठकमा सभासद कमला शर्माले नेपाली कांग्रेसका सभासद पूर्णबहादुर खड्कालाई चप्पलले आक्रमण गरेकी थिइन् ।
सुर्खेतबाट निर्वाचित शर्माले आफ्नो पतिको हत्यामा खड्का संलग्न भएको आरोप लगाउँदै आक्रमण गरेकी थिइन् । यस्तै, २०६८ साल असार ५ गते संविधानसभा सदस्यहरु विश्वेन्द्र पासवान, रुक्मिणी चौधरी, बुद्धरत्न मानन्धर र सदरुल मियाँ हकले रोस्ट्रममा जान लागेका स्थानीय विकासमन्त्रीलाई रोकेका थिए ।
त्यसबापत सभामुख सुवास नेम्वाङले उनीहरुलाई बैठक कक्षबाट निकाल्न निर्देशन दिनुका साथै सात दिनका लागि निलम्बन गरेका थिए । सोही दिन दलित जनजाति पार्टीका सभासद विश्वेन्द्र पासवानले आफ्नो कपडा आफैँ च्यातेका थिए भने बैठक कक्षका कुर्सी उचालेर फालेका थिए । संविधानसभामा सभासद सञ्जय साहले सभा कक्षको माइक तोडेका थिए ।
२०६८ भदौ ८ गते राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू कुन्तीकुमारी शाही, चन्द्रबहादुर गुरुङ, बबिना मोक्तान लावती र रामनारायण सिंह एक दिनका लागि निलम्बनमा परेका थिए । बैठक कक्षमा नारा लगाइरहेका उनीहरूलाई बाहिर जान आदेश भएको थियो तर नगएपछि मर्यादापालकको सहयोगमा निष्कासन गरिएको थियो । त्यही समयमा सदनका माइक तोडफोड गर्ने सांसद सञ्जयकुमार साह पनि कारबाहीमा परेका थिए ।
संविधानको विषयलाई लिएर २०७१ माघ ५ मा नेकपा (माओवादी केन्द्र)का सभासदले संविधानसभाको ग्यालरी तोडफोड गरेका थिए ।
२०६८ मा वार्षिक बजेट पेस गर्ने क्रममा तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेको ब्रिफकेस माओवादीकै सांसदले तोडफोड गरेका थिए । अर्थमन्त्रीको हातबाट ब्रिफकेस खोसेर सांसदहरुले बजेट वक्तव्य च्यातिदिएका थिए ।
दुईपक्षीय घम्साघम्सीमा केही सांसदहरुको लुगासमेत च्यातिएको थियो । भिडन्तको अवस्था आउने भएपछि तत्कालीन सभामुख सुवास नेम्वाङले संसद् बैठक स्थगित गरिदिएका थिए । त्यसको भोलिपल्ट अध्यादेशमार्फत बजेट ल्याइएको थियो ।































प्रतिक्रिया