देशभरि बाढीपहिरो : कहाँ के भयो ? (भिडियोसहित)

देशभरि बाढीपहिरो : कहाँ के भयो ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा मनसुन सुरु भएको एक महिना पूरा भएको छ । आज सोमबारदेखि ५ दिन देशभरी भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज पहिलो दिन नै काठमाडौं उपत्यकामा पहिरोमा परि एक जनाको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा गएको पहिरोमा पुरिएर २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । गुरुङको आइतबार राति पहिरोमा पुरिएर ज्यान गएको हो । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

उता चितवनमा गएरातिबाट परेको अविरल वर्षाका कारण नारायणगढ मुग्लिन सडकको चार किलो भन्ने स्थानमा पहिरो गएको छ । पहिरोले सवारी आवागमन अवरुद्ध भएको छ । पहिरो खस्ने क्रम बिहान पनि रोकिएको छैन । पानी परिरहेकाले तत्काल सडक पन्छाउन सक्ने अवस्था नरहेको नारायणगढ मुग्लिन सडक परियोजनाका इञ्जिनियर शिव खनालले जानकारी दिएका छन् । उनका अनुसार सडक पन्छाउन आज दिन भर लाग्न सक्नेछ । सो सडक भएर आवतजावत गर्ने सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न उनले आग्रह गरेका छन् । हरेक वर्षायाममा यो सडक यसरी नै बन्द हुने गरेको छ ।

त्यस्तै कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ खोराकोमुख पाखामा पहिरोका कारण नौ घर परिवारका ४४ जना विस्थापित भएका छन् । साउन २ गते बिहानको पहिरोमा परी स्थानीय प्रेमराज विकको घर पुरिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । लगातारको वर्षा र पहिरोको जोखिम कायमै रहेपछि पाखाका दुई परिवारलाई सामुदायिक भवन तथा अन्यलाई छिमेकीकोमा स्थानान्तरण गरिएको सोही वडाका वडाध्यक्ष कृष्णप्रसाद दवाडीले बताए ।

त्यस्तै आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले सर्लाही जिल्ला सदरमुकाम मलङ्गवाका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन् । भारी वर्षाले सर्लाही सदरमुकाम मलङ्गवासहित जिल्लाका विभिन्न ठाउँ जलमग्न बनेका छन् ।

सदरमुकाम मलङ्गवाको बाल मन्दिर, नगरपालिका चौक, बसपार्क लगायतका क्षेत्र जलमग्न भएको स्थानीय व्यापारीहरुले बताएका छन् । निरन्तर वर्षा भइरहँदा जिल्लाका विपन्न, सुकुम्वासी र पिछडिएका दलित परिवार प्रभावित भएका छन् । जिल्लाको वाग्मती, लखन्देही, फूलजोर, कालिन्जोर, बाँके, मनुष्मारा, झिम लगायतका खोलामा जल सतह बढेको छ । खोलाले केही ठाउँमा खेतीयोग्य जमीन कटानसमेत शुरु गरेको जिल्लाका किसानहरुले बताएका छन् ।

उता आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोबर गाउँपालिका ४ फाखेलमा एक घर पहिरोले पुरिएको छ । राकस खोला माथिबाट आएको पहिरोले स्थानीय ३४ बर्षीय दीपककुमार मोक्तानको घर पुरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन् । पहिरोले कुनै पनि मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
यही साउन ४ गतेदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको मदन भण्डारी राजमार्गअन्तर्गत भीमफेदी–कुलेखानी सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ ।

त्यस्तै भीमफेदी गाउँपालिकाको गढी नजिकै गए राती पहिरो जाँदा सवारी आवागमन बन्द भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए । अहिले ठूलो पानी परिरहेकाले तत्कालै पहिरो पन्छाउन पनि समस्या भएको उनले बताए । काठमडौँ–कुलेखानी–भीमफेदी–हेटौँडा सडक पहिराका कारण अवरुद्ध भएपछि अहिले गाडीहरु त्रिभुवन राजपथ भएर सञ्चालन भइरहेका छन् ।

त्यस्तै आँबुखैरेनी गोरखा सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा यातायात आवागमन अवरुद्ध भएको छ । तीनकिलोमा स्थानीय भीमबहादुर मगरको घर र खानेपानीको रिजर्भ ट्याङ्की पहिरोले बगाएको छ । गोरखा नगरपालिका १३ स्थित तीनकिलो, मजुवा, आठकिलो लगायतका विभिन्न स्थानमा गएको पहिरोका कारण सडक आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । यसैगरी, अविरल वर्षापछि चलेको पहिरोले अजिरकोट गाउँपालिका ४ माउसुलीपाखाका रामबहादुर मगरको घर बगाएको छ ।

दार्चुलाको नौगाड गाउँपालिका ६ परिगाउँमा पहिरो जाँदा आमा छोरी बेपत्ता भएका छन् । स्थानीय महिला ३५ वर्षीया मानमती ठगुन्ना र उनकी ६ वर्षीया छोरी रेवती ठगुन्ना बेपत्ता भएका हुन् । पहिरोले परिगाउँमा मात्रै विद्यालय भवन, २८ वटा बाख्रा भएको बाख्रा फर्म, तीन वटा पानीघट्ट समेत बगाएको छ । स्थानीयबासी तीन वटा घर पूर्णरुपमा क्षती हुनुका साथै खेतबारी समेत बगाएको छ । अहिले घटनास्थलमा उद्धारका लागि स्थानीयवासीसँगै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोली समेत खटिएको छ ।

मनसुन सुरु भएयता परेको पानीले पहाड र चुरे क्षेत्रका अधिकांश भूभाग गलिसकेकाले अब पाँच दिन पर्ने पानीले पहिरोको सम्भावना बढेको विभागले जनाएको छ । आज साउन ५ गतेदेखि ८ गतेसम्म प्रदेश नं १, २, बागमती, गण्डकी, प्रदेशका कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, बागमती, नारायणी, बुढीगण्डकी, सेती, मस्याङ्दी, कालीगण्डकी, तथा तिनका सहायक नदीमा उल्लेख्य मात्रामा जलसतह बढ्नेछ । केही नदीले सतर्कता तह पार गर्नेछ ।

ती प्रदेशका मध्यपहाडी तथा चुरे र तराई भइ बग्ने स–साना नदीनालामा साउन ९ गतेसम्म नै आकस्मिक बहावको सम्भावना छ । प्रदेश नं ५ को तिनाउ, पश्चिम राप्ती तथा बबई नदी र यसका सहायक नदी तथा कर्णाली प्रदेशको भेरी, पश्चिम सेती र यसका सहायक नदीमा समेत बहाव बढ्नेछ । केही नदी सतर्कता तह आसपास पुग्नेछन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् व्यवस्थापनमा संलग्न सुरक्षा निकायलाई उद्धार तथा राहतका लागि तैनाथ गरेर राखिएको बताउँछन् । सरकारी गैरसरकारी निकाय पनि तयारी अवस्थामा रही तत्काल परिचालन हुने अवस्थामा रहेको उनको भनाई छ ।

बाढीपहिरो र राष्ट्रिय सरोकारका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण

यसैबीच वाग्मती प्रदेशसभाको आइतबार बसेको पहिलो बैठकमा विशेष समयमा बोल्ने सत्तापक्ष र प्रतिपक्षका सदस्यले हाल बाढीपहिराले पु¥याएको क्षति, बेपत्ताको खोजी लगायत राष्ट्रिय महत्वको विषयमा आआफ्नो धारणा व्यक्त गरेका छन् । बैठकमा सत्तापक्षका सदस्यले केही दिनअघि सिन्धुपाल्चोक, चितवन र धादिङमा बाढीपहिरोका कारणबाट बेपत्ताको खोजी गर्न र मृत्यु भएका प्रत्येक परिवारलाई राहत वितरण गर्ने र तत्काल बसोबासका लागि प्रदेश सरकारको विभिन्न मन्त्रालयकाबीच समन्वय कार्यभूमिका साथ उद्धार कार्यका सक्रियता देखाउनु पर्ने बताए ।

नेपालमा पछिल्लो तीन महिनामा विपद्जन्य घटनामा परेर १५५ जनाको मृत्यु भएको छ । नेपालमा गत जेठ ३० देखि मनसुन भित्रिएको थियो । त्यसयता मात्रै मनसुनजन्य विपद्का घटनाबाट १ सय १० जनाको मृत्यु भएको छ ।

Skip This
Skip This
Logo