नेकपा एमालको अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुलुकको सही राजनीतिक विकल्प हुन नसक्ने दावी गरेका छन् ।
बिहीवारबाट सुरु भएको केन्द्रयि कमिटी बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले रास्वपासंग कुनै स्पष्ट राजनीतिक दिशा र खाका समेत नभएको जिकिर गरे । रास्वपा पपुलिष्ट भएको तर्क गर्दै उनले गत निर्वाचनमा युवा मतदाता, शहरी जनमत र प्रवासी नेपालीहरूमा पपुलिज्मले प्रभाव पारेको निष्कर्ष पनि निकालेका छन् ।
अध्यक्ष ओलीको प्रतिवेदनमा भनिएको छ, ‘गठबन्धनमा आबद्ध दलहरूले बढाएको राजनीतिक विकृति, आर्थिक र व्यवासायिक क्षेत्रमा देखा परेका असिम संकट, उत्पादन र रोजगारीको क्षेत्र साँघुरिँदै गरेको अवस्था तथा सेवा प्रवाहमा गम्भीर विचलनका कारण समाजमा निराश बढेको छ, २०६२/०६३ को परिवर्तन र नेपालको संविधान जारी भएपछि समाजमा देखापरेका आशा र उत्साहलाई यी गतिविधिहरूले ठूलो दिएपछि उत्पन्न असन्तुष्टिलाई पपुलिज्मले आफ्नो मुद्दाको रुपमा उठाउन सफल भयो ।’
उनले पपुलिज्मले व्याप्त समस्या उजागर गर्न सक्ने, प्रश्न पनि उठाउन सक्ने तर समाधान भने दिन नसक्ने दावी पनि गरे । कुनै दर्शन र विचाधारा नभएको र आर्थिक तथा राजनीतिक कार्यदिशा पनि प्रष्ट नहुँदा रास्वपा कहिले वामपन्थी दल त कहिले दक्षिणपन्थी दलहरुसंग टाँसिन पुग्दा यसले मुलुकलाई निकास दिने राजीतिक विकल्प बन्न नसक्ने अध्यक्ष ओलीको दावी छ ।
प्रतिवेदनमा भनिएको छ, ‘यस्ता शक्ति कहिलेकाहीँ सामाजिक अराजकता र स्थापित प्रणालीका विरूद्ध विभिन्न शक्ति केन्द्रहरूबाट उपयोग हुने जोखिम बढी हुन्छ ।’





























प्रतिक्रिया