अमेरिकी आरोपबारे राप्रपा उपाध्यक्ष रविन्द्र मिश्रको आपत्ति

अमेरिकी आरोपबारे राप्रपा उपाध्यक्ष रविन्द्र मिश्रको आपत्ति

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रले अमेरिकी विदेश मन्त्रालयद्वारा प्रकाशित अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन २०२२ को प्रतिवेदनमा नेपालबारे लगाइएको आरोपप्रति आपत्ति जनाएका छन्। 

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले व्यक्तिगत स्वतन्त्रतामा विश्वास गर्ने जिम्मेवार राजनीतिक दलका रूपमा राप्रपाले कुनै अमुक धर्म तथा व्यक्तिहरूविरुद्ध घृणा फैलाउने कार्य नगर्ने बताएका छन्। 

उनले लेखेका छन् ‘राप्रपाकुनै पनिप्रकारको विदेशी दवाव स्वीकार गर्दैन। राप्रपा धार्मिक स्वतन्त्रता र सहिष्णुतामा पुर्ण विश्वास गर्दछ। २०६३ सालमा धर्म निरपेक्ष घोषणा गरिनु अगाडी नेपालमा उदाहरणीय धार्मिक सहिष्णुता कायम थियो।

तर आन्तरिक र वाह्य स्वार्थ समूहहरूको खेलका कारण नेपाललाई रातारात षडयन्त्रमूलक ढङ्गबाट धर्म निरपेक्ष घोषणा गरियो। धर्म निरपेक्षताको घोषणापछि नेपाल संसारकै सबैभन्दा बढी धर्मान्तरण भइरहेको देशहरूमा पर्दछ। नेपालमा धर्मान्तरण व्यक्तिगत स्वतन्त्रता भन्दा पनि संगठित विदेशी प्रभावको विषय बनेको छ।’

अमेरिकाले भारतको सत्तारुढ दलमा भाजपासँग नजिक रहेका धार्मिक समूहले नेपालका प्रभावशाली नेताहरुलाई हिन्दू धर्मको पक्षमा बोल्न पैसा दिने गरेको आरोप लगाएको थियो। उपाध्यक्ष मिश्रले अमेरिकाले प्रमाण विनै गम्भिर आरोप लगाएको भन्दै उसको नियतमा प्रश्न उठाएका छन्।

‘अमेरिकी विदेश मन्त्रालय जस्तो जिम्मेवार संस्थाबाट प्रकाशित प्रतिवेदनमा नेपालबारे सुनेकै आधारमा कयौँ गम्भीर आरोपहरू लगाइनु अत्यन्त खेद जनक रहेकाे छ। प्रतिवेदनले ती आरोपहरू पुष्टी हुने प्रमाण दिएको छैन।

नागरिक समाजको भनाई भन्दै आधारहीन कथनहरू समेटेको छ। हाल विश्वमा चुनौतीको रूपमा देखिएको अफवाह र मिथ्या सूचना तथा त्यसले राजनीतिक दलको प्रतिष्ठामा पुग्ने नकारात्मक प्रभावको बारेमा अमेरिका जानकार नहुने कुरै भएन्।’ उनले भनेका छन्। 

धार्मिक द्वन्द्वको सम्भावनाका बारेमा मात्र नभएर नेपालको सदियौँ पुरानो संस्कृति र सभ्यतामाथि पर्ने प्रतिकूल असरका बारेमा पनि मानिसहरूमा गम्भिर चिन्ता उत्पन्न गराएको उनको भनाई छ। उनले सरकारले अमेरिकाको यो प्रतिवेदनका बारेमा आधिकारिक धारणा सार्वजनिक गर्ने अपेक्षा समेत राखेको बताएका छन्। 

Skip This
Skip This
Logo