अध्यक्ष तिमिल्सिनाकाे टिप्पणी- सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी

अध्यक्ष तिमिल्सिनाकाे टिप्पणी- सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारको नीति तथा कार्यक्रममाथि सङ्घीय संसद्मा हुने छलफल कर्मकाण्डीजस्तो भएको बताएका छन् । 

स्पिकर फोरम र एमसिडिएफको संयुक्त आयोजनामा आज आयोजित जलवायु परिवर्तनसम्बन्धी नीतिगत बहसलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले भने, “संसद्मा नेपाल सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी छ, यस क्रममा कतिपय समेट्नुपर्ने सुझाव पनि आएका हुन्छन् तर त्यसमा केही हुँदैन, छलफल मात्र हुन्छ ।”

उनले बजेटमा पनि त्यस्तै हुने र बजेट पेश भइसकेपछि त्यसमा घटबढ गर्नुपर्ने कुरा सुझावका रुपमा आए पनि त्यसमाथि केही नहुने गरेको हामीलाई थाहा नै छ भने । 

अध्यक्ष तिमिल्सिनाले सरकारको नीति तथा कार्यक्रम एवं बजेटका नाममा हुने छलफललाई औचित्यपूर्ण बनाउनुपर्ने सुझाव पनि दिए । 

देशका ऐन, कानुनको प्रभावकारी कार्यान्वयन पनि हुन नसकेको टिप्पणी गर्दै उनले भने, “मुख्य समस्या भनेको ऐन कार्यान्वयनकै हो । ऐन बनेका छन्, बनाउँदै जाने हो, कार्यान्वयनमा जाँदा के आवश्यक छ, त्यही आधारमा बन्दै जाने हो ।”

अध्यक्ष तिमिल्सिनाले छलफल पहिला गरेर ती सुझावको आधारमा बजेट ल्याउने वा बजेट ल्याएपछि छलफल गरेर बजेटमा हुनसक्ने परिवर्तन स्वीकार्न सक्नुपर्ने सुझाव दिए । उनले भने, “बिजेटको तयारी तीन महिना अगाडि भनेको छ, अहिले तीन चार दिन बजेटका लागि भनेर छलफल गरेर समय कसरी पुग्छ ? बजेट ल्याउनुभन्दा १५ दिनअघि प्रि–बजेट छलफल गराएर के समाधान हुन्छ ? हाम्रा तरिका यस्ता छन्, हामी उल्टो तरिकाबाट काम गर्दैछौँ ।” 

उनले वातावरण संरक्षण गर्दै दिगो विकास लक्ष्य हासिलका लागि विद्युतीय सवारीमा विशेष छुटको व्यवस्था गर्नुपर्नेमा जोड दिए । 

सो कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईंले विकास निर्माणका काम जलवायुमैत्री हुन नसकेको बताइन् । उनले वन र सडकको तादम्यता नमिल्दा सडक निर्माण हुन नसकेको गुनासो आउने गरेको जानकारी दिइन् । पहाडी क्षेत्र जलवायु परिवर्तनबाट बढी प्रभावित हुने गरेको उल्लेख गर्दै उनले जलवायुमैत्री विकास निर्माणको सम्पूर्ण जिम्मा स्थानीय तहलाई दिनुपर्नेमा जोड दिइन् । 

Logo