सर्वोच्च अदालतबाट ४५ प्रतिशत मुद्दा फछर्यौट

सर्वोच्च अदालतबाट ४५ प्रतिशत मुद्दा फछर्यौट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सर्वोच्च अदालतले आर्थिक वर्ष २०७६/०७७ मा कुल लगतको ४५ दशमलव ४३ प्रतिशत मुद्दा फछर्यौट भएको बताएको छ । आर्थिक वर्ष २०७६/०७७ मा सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा गरी कुल २ लाख २४ हजार ३ सय ४६ लगत कायम भएकोमा १ लाख १ हजार ९ सय २७ थान मुद्दा फछर्यौट भएको छ । जुन कुल लगतको ४५ दशमलव ४३ प्रतिशत हुन आउँछ ।

सर्वोच्च अदालतले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य रजिष्टार नृपध्वज निरौलाले आर्थिक वर्ष २०७५/०७६ बाट जिम्मेवारी सरी आएको १ लाख ८ हजार १ सय ६४ र आर्थिक वर्ष २०७६/०७७ मा नयाँ दर्ता भएका १ लाख १६ हजार १ सय ८२ गरी जम्मा वार्षिक लगत २ लाख २४ हजार ३ सय ४६ कायम भएकोमा १ लाख १ हजार ९ सय २७ थान मुद्दा फछर्यौट भई आर्थिक वर्षको अन्त्यमा १ लाख २२ हजार ४ सय १९ थान मुद्दा बाँकी रहेको बताए । उनले कुल लगतको ४५ दशमलव ४३ प्रतिशत मुद्दा फछर्यौट भएको र वर्ष २०७६/०७७ मा निर्धारित मुद्दा फछर्यौटको वार्षिक लक्ष्य १ लाख ६५ हजार ६९ को करीब ६२ प्रतिशत प्रगति भएको बताए । उनले सर्वोच्च अदालतमा कुल लगतको ३२ दशममलव ३५ प्रतिशत, उच्च अदालतमा कुल लगतको ५३ दशमलव ७१ प्रतिशत र जिल्ला अदालतमा कुल लगतको ४६ दशमलव ५५ प्रतिशत मुद्दा फछर्यौट भएको बताए ।

सर्वोच्च अदालतमा आर्थिक वर्ष २०७५/०७६ बाट जिम्मेवारी सरी आएको २३ हजार ९ सय ५२ र आर्थिक वर्ष २०७६/०७७ मा नयाँ दर्ता भएको ११ हजार १ सय ७९ गरी जम्मा वार्षिक लगत ३५ हजार १ सय ३१ कायम भएकोमा ३२ दशमलव ३५ प्रतिशत अर्थात् १० हजार ७ सय ५९ मुद्दा फछर्यौट भई २४ हजार ३ सय ७२ मुद्दा बाँकी रहेको छ । सर्वोच्च अदालतमा अघिल्लो वर्षको भन्दा कूल लगतको २ दशमलव ४३ प्रतिशत अर्थात १ हजार ५ सय ६६ थान मुद्दा बढी फछर्यौट भएको छ ।

उच्च अदालतहरुमा अघिल्लो आर्थिक वर्षबाट सरी आएको १५ हजार ७ सय ४४ र आर्थिक वर्ष २०७६/०७७ मा नयाँ दर्ता भएका २७ हजार ३ सय १४ गरी कुल लगत ४३ हजार ५८ मध्ये ५३ दशमलव ७१ प्रतिशत अर्थात २३ हजार १ सय ३० मुद्दा फछर्यौट भई १९ हजार ९ सय २८ मुद्दा बाँकी रहेको छ । उच्च अदालतहरुको कुल वार्षिक फछर्यौट लक्ष्य ३० हजार २ सय ३७ को ९० दशमलव ३३ प्रतिशत प्रगति हासिल भएको छ ।

जिल्ला अदालतहरुमा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएको ६८ हजार ४ सय ६८ र आर्थिक वर्ष २०७६/०७७ मा नयाँ दर्ता भएको ७७ हजार ६ सय ८९ गरी कुल लगत १ लाख ४६ हजार १ सय ५७ मध्ये ४६ दशमलव ५५ प्रतिशत अर्थात ६८ हजार ४४ मुद्दा फछर्यौट भई आर्थिक वर्षको अन्त्यमा ७८ हजार १ सय १३ मुद्दा बाँकी रहेको छ । जिल्ला अदालतहरुले वार्षि फछर्यौट लक्ष्य १ लाख १६ हजार ५ सय ६४ को ५८ दशमलव ३७ प्रतिशत प्रगति हासिल भएको छ ।

कार्यक्रममा सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले मुद्दाको फछर्यौटलाई प्रभावकारी बनाउन नयाँ सफ्टवेर सञ्चालनमा ल्याइएको बताए । उनले नयाँ सफ्टवेर प्रणालीबाट मुद्दा दर्ता हुँदाको अवस्थामा नै दर्तादेखि फैसलासम्म हुने मूख्य मूख्य कामहरुको मिति सहितको कार्यतालिका सम्बन्धित पक्षलाई उपलब्ध गराइने बताए । सफ्टवेरको माध्यमबाट कार्यतालिका अनुसार काम भए नभएको अनुगमन गर्न सकिने व्यवस्था पनि मिलाइएको उनले बताए । यसबाट मुद्दा फछर्यौटको संख्या बढ्ने विश्वास गरिएको प्रवक्ता पोखरेलले बताए ।

Logo