जेलबाट छुटेपछि रेशम चौधरीले भने- ‘टिकापुर घटनाका पीडितले न्याय पाउनुपर्छ’[भिडियाेसहित]

जेलबाट छुटेपछि रेशम चौधरीले भने- ‘टिकापुर घटनाका पीडितले न्याय पाउनुपर्छ’[भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरी रिहा भएका छन्। 

मन्त्रीपरिषद्को सिफारिसको राष्ट्रपति रामचन्द्र पौडेलले १६ औँ गणतन्त्र दिवसको अवसरमा रेशमको कैद सजाय माफी गरेसँगै उनी सोमबार बिहान रिहा भएका हुन्। 

डिल्लीबजार कारागारबाट छुटेपछि उनी आफ्नी श्रीमती एवं भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीसँग पुल्चोकस्थित मन्त्री क्वार्टर पुगेका थिए। 

त्यसपछि माइतीघर पुगेर आफ्ना कार्यकर्ताहरूसँग खुसीयाली मनाएका छन्। समर्थकहरूले रेशमलाई फूल मालाले भव्य स्वागत गरेका थिए। 

रिहा भएका रेशम चौधरीले टीकापुर घटनाका पीडितले न्याय पाउनुपर्ने बताएका छन्। दोषीले सजाय नपाएको बरू राज्यले पुरस्कृत गरेको उनको गुनासो थियो। टीकापुर घटनाको सत्यतथ्य पत्ता लगाउन धरातलमा गएर उच्चस्तरीय छानबिन कमिटी बनाइनुपर्ने पनि उनले बताए।

टिकापुर घटनाको सन्दर्भमा कानूनको परिभाषा जान्ने विज्ञहरुले व्याख्या गर्लान्। तर, निर्दोष मान्छेलाई बर्षौ जेलमा सढाई राख्नु कानूनी परिभाषाको पूर्ण परिचय हुन्छ की हुँदैन? त्यो पनि विद्वान साथीहरुलाई सोधिदिनु पर्छ। अस्ति मात्रै साढे सात वर्ष जेल बसेर सम्मानीय अदालतले हाम्रा मित्र सन्तराम चौधरीलाई रिहा ग-यो। उहाँ बजारमा मासु किन्न जानु भएको थियो।  

उहाँलाई समातियो। र, जेल हालियो।  धेरै साथीहरु बजारमा तरकारी बेच्दै थिए । कोही रिक्सा चलाउँदै थिए । कोही घाइतेलाई आफ्नै रिक्सामा राखेर उपचार गर्न लग्दै थिए । पोलिएकै भरमा कसैले, भनेकै भरमा यो दुर्भाग्यपुर्ण घटनाको फैसला गरिनु दुखःदायी बिषय हो । अहिले पनि म भन्छु धरातलमा गएर उच्चस्तरीय छानविन कमिटी बनाइनुपर्छ ।

टिकापुर घटना कुनै बन्द कोठामा गरिएको होइन। टिकापुर घटनालाई हजौराैँ आँखाले साक्षात रुपमा देखेका छन्। कसले कस्लाई मा-यो? कसले कसलाई भाला रोप्यो ? कस्ले कस्लाई खुकुरीले छप्कायो ? त्यो स्थानीय साक्षी र नाङ्गा आँखाले देख्नेहरु बोल्लान्। 

मलाई रिहा गरेकोमा सरकारलाई धन्यवाद छ। सरकारले गर्ने काम सरकारले ग-यो। सम्मानित अदालतले गर्ने काम अदालतले ग-यो। तर, म तपाईहरुले सोधेको प्रश्नमा भन्छु भने टिकापुर घटनाको कथा अर्कै थियो। पटकथा अर्कै लेखियो। र, फिल्म अर्कै बन्यो। 

यो पटक कथा सार्वजनिक गर्नुपर्छ। तर, कतिपय यस्ता भित्रि पाटो हुन्छन् जसको भित्रि पाटो देखाइन्न। जस्तै, टिकापुर घटना भइरहँदा मेरो घरमा आगो लगाउनेहरुको,मेरो एफएम जलाउनेहरुको,मेरो रिसोर्टमा धुवाँ फुक्नेहरुको, मेरो लत्ताकपडा,पुरातात्विक वस्तु जलाउनेहरुको करिब साँढे तीन सय फोटो मसँग छन्। 

त्यसमध्ये, सय जना जति म चिन्दछु। के म अब उनीहरुको घरघर गएर मेरो सामाग्री फिर्ता गर, नत्र जे पनि गर्छु भनेर थर्काउँ ? अब यसो हुँदैन। हामी जनप्रतिनिधि हौँ। स्थानीय नागरिकको समस्या समाधान गर्ने हाम्रो दायित्व हो। तर, यहाँ भनिए जस्तो कथा कोरिनु पर्छ। फिल्म बनिनुपर्छ। अलिकति भए पनि दर्शकलाई यसको आभास दिलाउँनै पर्छ। 

घटनाका पीडितसँग पक्कै पनि पीडा होला। तीन बर्ष रेशम चौधरीले भारतीय बजारमा टेम्पो चलाउँदा, आफनो नाङ्गो टाउकोमा दारुको पेटी बोक्दा, होस्टेलको वार्डेन बन्दा मलाई पनि पीडा नै भयो होला। जेलामा म बिरामी भएर उपचार गर्न जादा मेरो खुट्टामा लगाइएको २१ किलोको नेलले पनि भन्छ होला रेशम तँलाई जरुर पीडा भयो। 

पीडा उहाँहरुलाई पनि छ। पीडा हामीलाई पनि छ। पीडा हजारौ चेलीहरुलाई छ। टिकापुर घटनाको बारेमा मान्छेले कतिको नियालेको छ ? सयौ चेली हिंसामा पर्नु भएको छ। ७०/८० वर्षको बुबाआमाले पिटाइ खानु भएको छ। सयौँ घरहरुमा आगो लगाइएको छ। 

हजारौको श्री सम्पति लुटिएको छ। यो घटनाको छानविन गर्दा दुवै पक्षका पीडितलाई जरुर मलम पट्टि लागेको महसुस भएको होला। 
साहदत प्राप्त गर्ने सहिदप्रति नागरिक उन्मुक्ति पार्टी र थारुहट आन्दोलनको पक्षबाट भावपूर्ण श्रद्धान्जली छ। उहाँहरुले न्याय पाउनुपर्छ।

उहाँहरु र हामीबीच अन्तरक्रिया गरिनुपर्छ। उहाँहरुले हामीलाई दोषी देख्दै हुनुहुन्छ। हामी भन्दै छौं, जो दोषी छ, उसले त सजाय पाउँदै पाएन्। जो दोषी थियो, ऊ त मन्त्री बन्यो। जो दोषी थियो, उसलाई त राज्य उपहार दियो , पुरस्कार दियो।

यस्तो दुर्भाग्यपूर्ण घटना नहोस् । उहाँहरुले जो समक्ष न्यायको याचना गरिरनु भएको छ । उहाँहरुले कतै पीडा दिनेहरुको घरको ढोका त ढक्ढकाई रहनु भएको छैन ? यो गम्भिर बिषय हो । 

लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्छ । हामीले सम्मानित अदालतको फैसलालाई स्वीकार गरेर जेलमा जिवन बितायौँ। सम्मानित अदालतले गरेको फैसलालाई सरकारले मान्ने की नमान्न ? आखिर त्यस्तो रहस्य के छ ? जसलाई सार्वजनिक गर्न सकिँदैन ।

किन लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिँदैन ? रहस्मय घटना त छ नी ? आयोगको प्रतिवेदन सार्वजनिक गरिनैपर्छ । त्यो नै उन्मुक्तिको फैसलाको पाटो हो। 

Logo