नेपालका एक मात्र उदाहरणीय मेयर भनेर हर्क साम्पाङलाई नचिन्ने सायदै कोही होलान् । उनको चर्चा देश विदेशमा छ । धरान उपमहानगरपालिकाको मेयर भएको एक वर्षसम्म उनले काम गरेका छन् । उनी काम गर्न कहिल्यै पछि हट्दैनन् । त्यसैले त उनले शनिबारलाई श्रम बार मानेका छन् ।
मेयर भएको केही समयको प्रयासपछि उनले पहिलोचोटी धरानमा पानी ल्याएका थिए । सँधै पानीको हाहाकार हुने धरानमा उनले घरघरमा पानी पुर्याएपछि झन् चर्चा चुलियो । तर, खडेरीले उनले ल्याएको पानीको मुहान् पनि सुक्न थालेपछि अर्को चिन्ता थपिएको छ ।
धरानमा पछिल्लो केही समय पानीको व्यापक अभाव भयो । धरानेको खानेपानीमा योगदान गर्ने प्रायः साना स्रोतहरू सुकेपछि हाहाकारै मच्चियो । स्रोतमै पानीको अभाव भएपछि नलमा पानी सुक्यो । नलमा खानेपानी नआएका स्थानीयहरू उपमहानगरपालिका नै गएर मेयर हर्क साम्पाङलाई गुनासो गर्न थाले । तर, मेयर साम्पाङ पनि चुप लागेर कहाँ बस्थे र । गत शुक्रबारको कार्यालय सकेपछि उनी धरानमा पानी नलिई नफर्किने बाँचा गरेर श्रम अभियान चल्दै गरेको कोकाहा खानेपानी परियोजनातिर हानिए । शुक्रबारको कार्यालय सकेर हिँडेका साम्पाङ शनिबार, आइतबार र सोमबार श्रम अभियानमै खटिए । जहाँ दिन सकिन्छ त्यही उनको बास भयो ।
अन्ततः उनको अथक प्रयास र मेहनतका कारण धरानमा कोकाहा नदिको पानी आएरै छाड्यो ।
कोकाहाको पानी पकुवा खोलामा खस्न थालेपछि आइपुगेका साम्पाङ पानी देख्नेबित्तिकै भावुक बने र मुख छोपेर रुन थाले ।
मंगलबार बिहानको राति १२ बजेर ३ मिनेटमा त्यही श्रम अभियान अन्तर्गतको कोकाहको पानी धरानको पकुवा खोलामा आइपुगेको हो । पकुवामा खानेपानी आइपुगेपछि राति नै साम्पाङ पनि पकुवामै देखिए । कोकाहाको पानी पकुवा खोलामा खस्न थालेपछि आइपुगेका साम्पाङ पानी देख्नेबित्तिकै भावुक बने र मुख छोपेर रुन थाले । उनले त्यत्तिकैमा पाइपबाट खस्दै गरेको पानीले मुख धोए र टाउकोमा पानी थापी रहे ।
खुसीले आँशु झार्दै पाइपको पानी छुन पुगेको भिडियो सामाजिक संजालमा उनी आफैले पोस्ट गरेका छन् । हर्क साम्पाङ अरुबेला धेरै बोल्ने व्यक्ति हुन् तर, मंगलबार भने उनी सबैलाई धन्यवाद दिँदै कमै मात्र बोले । साम्पाङ केही छिन् सम्म पकुवामै टोलाएर बसिरहे । कोकाहा खोलाबाट खानेपानी ल्याउन गत फागुन २३ देखि श्रमदान निरन्तर छ ।
श्रमदान अभियान शुरु गरेको ९८ औं दिनमा गएको मध्यराती कोकाहाको पानी धरान २० स्थित पकुवा खोलामा खसालेर वास आउट गरिएको हो ।
करिब ४५ किलोमिटर मध्ये ४० किलोमिटर पाइप बिच्छ्याएर मंगलबार पकुवासम्म खानेपानी आइपुगेको छ । श्रमदान अभियान शुरु गरेको ९८ औं दिनमा गएको मध्यराती कोकाहाको पानी धरान २० स्थित पकुवा खोलामा खसालेर वास आउट गरिएको हो । अबको केही हप्ताभित्र कोकाहाको पानी वितरण ट्यांकीमा हाल्ने योजना साम्पाङको छ ।

धरानको वडा नम्बर २० स्थित हात्तीसार भन्ने ठाउँबाट कोकाहाको पानीलाई पाइपमार्फत बराहक्षेत्र हुँदै ल्याइएको हो । कोकाहा खानेपानी अभियानको लागि देशविदेशबाट ४ करोड बढी आर्थिक तथा पाइप, खाद्यान्न लगायत सहयोग भएको थियो । प्रत्येक शनिबार ५ हजार भन्दा बढी धरान र धरानबाहिरबाट मानिसहरु श्रमदानमा पुग्ने गरेका थिए । मेयर साम्पाङले यसअघि पनि पकुवा खोला, सर्दु, निशाने खोला र भालु खोलाको पानी पनि श्रमदान अभियानबाटै जोड्न सफल भइसकेका छन् ।
मेयर भएपछि खानेपानीका लागि के-के गरे साम्पाङले ?
हर्क साम्पाङले मेयरको जिम्मेवारी सम्हालेको केही दिन पछि नै खानेपानीको स्रोत थप्ने अभियान सुरु गरे । उनले धरानको पकुवा खोलाबाट पानी ल्याउने र त्यसका लागि श्रमदानमा खटिन नगरवासीलाई आग्रह गरे । अनि आफैबाट सुरु गरे काम । दिनभरि ढुंगा बोक्ने, गैंती र बेल्चा हान्ने काममा मेयर आफै नै खटिएपछि उनलाई सहयोग गर्नेको भिड लाग्यो ।

करिब महिना दिनको श्रमदान र सहयोगी दाताको आर्थिक सहयोगले पकुवाको पानी धरानसम्म आउन सफल भयो । पकुवाको पानी धरानसम्म आइपुग्दा श्रमदानमा खटिने टोलीले ठूलो युद्ध जिते बराबरको खुसीयाली मनाए । पकुवा प्रोजेक्टको सफलतापछि उत्साही भएका साम्पाङ र उनको टिम त्यस्तै अर्को योजनामा खटिन थाल्यो ।
मेयर साम्पाङ आफूले जिम्मेवारी सम्हाले यताको सबैभन्दा ठूलो उपलब्धि नै श्रम अभियान र त्यसमार्फत् धरानमा उपलब्ध खानेपानी भएको बताउँछन् ।
त्यसपछि क्रमशः निशाने खोला, सर्दु, खर्दु र भालुखोलाबाट धरानमा पानी थपियो । मेयर साम्पाङ पनि आफूले जिम्मेवारी सम्हाले यताको सबैभन्दा ठूलो उपलब्धि नै श्रम अभियान र त्यसमार्फत् धरानमा उपलब्ध खानेपानी भएको बताउँछन् ।
हर्क साम्पाङले मेयर बनेपछि धरानमा दुई वटा अभियानसँगै अघि बढाइरहेका छन् । पहिलो, श्रम तथा दोस्रो लागु औषधविरुद्धको अभियान । मेयर हर्कले अहिलेसम्म गरेको श्रमदानले धरान श्रमदाताको सहरका रूपमा चिनिन थालेको छ । हरेक शनिबार वा बिदाको दिन हजारौं सर्वसाधारण सहभागी हुने श्रम अभियानमा अन्य दिन पनि सयौं सहभागी हुँदै आएका छन् । श्रमसँगै धरानमा जारी रहेको लागुऔषधविरोधी अभियानले पनि युवाहरूलाई सकारात्मक प्रभाव पारेको छ ।
त्यसबाहेक उनको जनविश्वास कायम रहनु वा बढ्दै जानुको अर्को मुख्य कारण धरानको खानेपानी समस्या समाधान गर्न उनले दिनरात गरिरहेको मिहेनत पनि हो । आर्थिक अनियमिततामा नमुछिनु, सुविधाभोगी नहुनु र धरानलाई खानेपानीबाट हाहाकार मुक्त बनाउन दिनरात नभनी खटिनु नै मेयर साम्पाङको अहिलेसम्मको मुख्य सफलता हो ।































प्रतिक्रिया