समाजवादी मोर्चाको घोषणा हुन अझै केही दिन लाग्ने, नेकपा एस पनि सहभागी हुने

समाजवादी मोर्चाको घोषणा हुन अझै केही दिन लाग्ने, नेकपा एस पनि सहभागी हुने

केन्द्रबिन्दु
0
Shares

चार पार्टीहरु मिलेर समाजवादी मोर्चाको घोषणा गर्ने तयारी जोडतोडले अघि बढाइएको छ। तर मोर्चामा आवद्ध हुने भनिएका दलहरुले आन्तरिक गृहकार्य नपुगेको भन्दै त्यसका लागि अझै केही समय लाग्ने निष्कर्ष निकालेका छन्। 

शुक्रबार बसेको नेकपा एकीकृत समाजवादी सचिवालय बैठकले चाँडोभन्दा चाँडो मोर्चा घोषणाको लागि पहल गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए । 

मोर्चामा सहभागी दलहरुले आन्तरिक गृहकार्य गर्न बाँकी रहेकोले दुईचार दिन मोर्चा घोषणा हुन नसक्ने उनको भनाइ छ। उनले भने,‘हामीले एक वर्षअघि देखि नै पहल गर्दै आइरहेका छौँ। समाजवादी मोर्चा गठनको लागि दुईतीन दिन समय लाग्ने देखिएको छ। मोर्चा निर्माणको लागि पहल गर्दै आएको हाम्रो पार्टीको आन्तरिक बैठक र तयारी पूरा गरिसकेको छ। सबैको आन्तरिक बैठक र तयारी पूरा नभएकाले आजै समाजवादी मोर्चा नेपालको घोषणाको हुन नसक्ने तर,अत्यन्तै चाँडै घोषणा गर्ने गरी अन्य दलहरुसंग छलफल भइरहेको छ।’

उनले आफ्नो पार्टीले मोर्चा निर्माणका लागि पहिल्यै सैद्धान्तिक रुपमा सहमत भैसकेको अवस्थामा आजको बैठकले पनि सर्वसम्मत रुपमै पार्टीले मोर्चामा जाने स्वीकृत गरेको बताए । 

संसद र संसद बाहिर समाजवादी विचारधारालाई प्रचार गर्ने,समाजवादका पक्षमा जनमत निर्माण गर्ने,विकास,सुशासन र राजनीतिक स्थिरताको पक्षमा वकालत गर्दै आम जनतालाई सेवा सुविधाको उपलब्धतालाई व्यवस्थित गर्न आवश्यक पर्दा दबाब दिन सक्ने गरी मोर्चा गठन गर्न लागेको खतिवडाले दाबी गरे। 

त्यस्तै, संम्पूर्ण रुपमा अहिल्यै यो मोर्चाको प्रकृति टुंगोमा नपुगेपनि प्रदेश र जिल्लाहरूमा समेत मोर्चाको संयन्त्र बन्नसक्ने गरि प्रस्ताव गरेको खतिवडाको भनाइ छ। मोर्चामा चार कम्युनिष्ट पार्टी नेकपा माओवादी,नेकपा एस,जसपा र विप्लव नेतृत्वको नेकपा सामेल हुने निश्चित छ। डाक्टर बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई समेत मोर्चामा सामेल गराउने हेतुले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आवश्यक कसरत गरिरहेका छन्। 

Logo