वेस्ट इन्डिजको विशाल लक्ष्यविरुद्ध नेपालको कमजोर सुरुवात

वेस्ट इन्डिजको विशाल लक्ष्यविरुद्ध नेपालको कमजोर सुरुवात

केन्द्रबिन्दु
0
Shares

नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा वेस्ट इन्डिजको विशाल लक्ष्यविरुद्ध कमजोर सुरुवात गरेको छ । 

जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा ३४० रनको लक्ष्य पछ्याएको नेपालले पहिलो १० ओभरमा २ विकेट गुमाउँदै ४२ रन बनाएको हो । नेपालले दोस्रो ओभरको चौथो बलमा ओपनर कुशल भुर्तेललाई ५ रनमा गुमाएको थियो । उनलाई अल्जारी जोसेफले बोल्ड आउट गरे । त्यस्तै, चौथो ओभरको दोस्रो बलमा भीम सार्की पनि २ रन जोड्दै पवेलियन फर्किए । उनलाई जास होल्डरले कप्तान शाई होपमार्फत क्याच आउट गराए । 

हाल क्रिजमा ओपनर आशिफ शेख र कप्तान रोहितकुमार पौडेल रहेका छन् । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले कप्तान शाई होप र निकोलस पुरनको शतकमा नेपाललाई जितको लागि तीन सय ४० रनको लक्ष्य दिएको थियो । निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै तीन सय ३९ रनको योगफल बनाएकाे हाे । 

वेस्ट इन्डिजका कप्तान होपले सर्वाधिक एक सय ३२ रनको योगदान दिए । उनले एक सय २९ बलमा १० चौका र तीन छक्का प्रहार गर्दै एक सय ३२ रनको योगदान दिए ।  

 त्यस्तै निकोलस पुरनले एक सय १५ रन बनाए । उनले ९४ बलमा १० चौका र चार छक्कासहित एक सय १५ रनको योगफल बनाएका हुन् । चौथो विकेटका लागि पुरन र होपले दुई सय १६ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए ।  

ब्रेन्डन किङ्गले ४२ बल खेल्दै दुई चौका र दुई छक्काको मद्दतमा ३२ रन जोडे । यस्तै रोभम्यान पावेलले तीन चौका र एक छक्काको सहयोगमा १४ बलमा २९ रन बनाए । वेस्ट इन्डिजका सुरुआती व्याट्सम्यान कायल मेयर्सलाई एक रनमा आउट भए भने जासोन होल्डरले अविजित १६ रन बनाए । 

बलिङतर्फ नेपालका ललित राजवंशीले तीन विकेट लिए भने करण केसी, गुलशन झा, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान एक÷एक विकेट लिए । 

नेपाललाई उक्त प्रतियोगिताको सुपर सिक्समा पुग्नका लागि वेस्ट इन्डिजविरुद्धको खेल जित्नै पर्ने दबाब रहेको छ । यसअघि भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई छ विकेटले हराएको थियो । 

Skip This
Skip This
Logo