केन्द्रबिन्दु एक्सप्रेसः विनियोजन विधेयक बहुमतले पारित, रवि लामिछानेको मुद्दा खारेज [भिडियाे]

केन्द्रबिन्दु एक्सप्रेसः विनियोजन विधेयक बहुमतले पारित, रवि लामिछानेको मुद्दा खारेज [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

ललितानिवास प्रकरणमा पक्राउ परेका चार जनालाई सातदिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

न्यायाधीश वासुदेव पौडेलको इजलासले सरकारी किर्ते मुद्दामा अनुसन्धान गर्न आरोपितहरुलाई हिरासतमा राख्न केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीलाई अनुमति दिएको हो।

प्रहरीले मंगलबार ७ जनालाई नियन्त्रणमा लिए पनि भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर शाह, तत्कालिन खरदार गोपालकार्की र शाखा अधिकृत धर्मप्रसाद गौतम थुनामै छन्। 

ललितानिवास जग्गा प्रकरणमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ११३ रोपनी सरकारी जमिन व्यक्तिको नाममा कायम गर्ने क्रममा भएको कीर्तेमा हदम्याद नलाग्ने दाबी गरेको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै उसले यो प्रकरण नयाँ मुलुकी ऐन आउनु भन्दा अघिको भएकाले अहिलेको कानुन आकर्षित नहुने बताएको हो। जग्गा प्रकरणमा सीआईबीले ४०६ जनाविरुद्ध पक्राउ अनुमति लिएको बताएको हो । 

प्रतिनिधि सभाबाट विनियोजन विधेयक बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी एमालेसहितका दलले माग गरे अनुसार मत विभाजन बाट विधेयक पारितको निर्णय लिइएको थियो। २ सय ५५ जना उपस्थित रहेको प्रतिनिधि सभामा विधेयकको पक्षमा १४७ र विपक्षमा १ सय ८ मत परेको थियो। 

यसअघि हुबहु बजेट पारित गर्न लागेको भन्दै विपक्षीदलहरु एमाले र रास्वपाले विरोध गरेपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने विषय नहटाएको भन्दै उनीहरुले विरोध गरेका थिए । 

बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै प्रतिपक्षी नेकपा एमालेले कर्णाली प्रदेश सभा बैठक अवरुद्ध गरेको छ । संसदमा पेस भएको बजेट सुधार नभएसम्म संसदको कारवाही अगाडि बढाउन नदिने एमालेको अडान छ । 

एक घण्टा कुर्दा पनि लुम्बिनी प्रदेश सभा सुरु नभएको भन्दै एमाले सांसदहरु सदन बाट बाहिरिएका छन्। बजेटमा विरोध गर्ने संकेतकाबीच मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र सभामुख तुलाराम घर्ती छलफलमा रहेका समय एमाले सांसदहरुले भने प्रदेश सभा बहिस्कार गरेका थिए। लुम्बिनी प्रदेश सभा ३ बजेका लागि बोलाइएको थियो। 

सर्वोच्च अदालतले समलिंगी विवाहको अस्थायी दर्ताका लागि सरकारका नाममा अन्तरिम आदेश दिएको छ। समलिंगी विवाह गर्ने जोडीले निवेदन माग गरे विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गरिदिन आवश्यक व्यवस्था गरिदिन सर्वोच्चले आदेश दिएको हो । 

सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेको सांसद पद खारेज हुनुपर्ने माग गर्दै दायर रिट खारेज गरिदिएको छ।

लामिछानेले अनधिकृत नागरिकता त्यागेको निस्सा पेस नगरी नेपाली नागरिकताको प्रतिलिपि लिएको भन्दै युवराज सफलले रिट हालेका थिए। सर्वोच्चको संवैधानिक इजलासले बुधबार उक्त रिट नै खारेज गरिदिएको हो।  

पशुपतिनाथको शिवलिंगबाट आइतबार निकालिएको जलहरी बिहीबार पुर्नस्थापित गरिएको छ। दर्शनार्थीलाई प्रवेश निषेध गरेर सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा जलहरी जडान भएको हो। 

जसपाले आफ्ना नेता तथा कार्यकर्तालाई ७० वर्षे उमेर हद लागू गरेको छ। काठमाडौंमा भएको अधिवेशनले विधान संशोधन गर्दै उमेर हदको प्रावधान समेटेको हो। उमेर हदको प्रावधान कार्यान्वयनमा आए अध्यक्ष उपेन्द्र यादवले ७वर्ष र संघीय परिषद् अध्यक्ष अकोश राईले चार वर्षमा अवकाश लिनुपर्नेछ । 

काठमाडौं उपत्यकामा रहेका सरकारी अस्पतालका २ हजार २८ वटा शय्या बिहीबारदेखि निःशुल्क हुने भएका छन् । विपन्न, असहाय र बेवारिसे बिरामीलाई लक्षित गरी गंगालाल ह्दय रोग केन्द्र, प्रसुति गृह, कान्तिबाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा उक्त सेवा उपलब्ध हुने सरकारको भनाइ छ । 

राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन् । स्वास्थ्यमा समस्या आएपछि त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा असार भर्ना भएका उनी बिहीबार डिस्चार्ज भएका हुन्। मुटुको चाल अनियमित भएपछि उनलाई असार ५ गते पेसमेकर रोखिएको थियो। 

कारोवार हुने साताको चौँथो दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक घटेको छ। मंगलबार हरियाली भएको बजार बुधबार  ३५ दशमलव ३७अङ्कले ओरालो लागेर दुई हजार एक सय ५० दशमलब ९९ बन्द भएको हो । 

दक्षिण कोरियाका जनताको उमेर बुधबारदेखि एक वर्ष घटेको छ। गर्भबाटै उमेर गणना गर्ने कोरियामा जुनसुकै महिनामा बच्चा जन्मिएको भएपनि हरेक जनवरी एकमा एक वर्ष उमेर बढाउने गरिएको थियो।

उमेर गणनाको यो शैली अन्तर्राष्ट्रिय स्तरको नभएको भन्दै कोरिया सरकारले नयाँ कानुन कार्यान्वयनमा ल्याएको हो । 

नेपाल एसिसी यू १६ इस्टजोन कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ। बुधबार थाइल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरमा पराजित गर्दै नेपालले अन्तिम चारको यात्रा तय गरेको हो। नेपालको जितमा निरज कुमार यादवले ७४ रन बनाए भने सन्तोष यादवले ह्याट्रिकसहित ५ विकेट लिए। 

Skip This
Skip This
Logo