राजनीतिक अस्थिरताको खेलमा हामी छैनौँः रवि लामिछाने

राजनीतिक अस्थिरताको खेलमा हामी छैनौँः रवि लामिछाने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरु राजनीतिक अस्थिरताका पक्षमा नरहेको बताएका छन् । 

आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले रास्वपा मुलुकमा अस्थिरता नहोस् भन्ने पक्षमा रहेको बताएका हुन् । उनले भने, “हामी अस्थिरताको खेलमा छैनौँ । मुलुकमा अस्थिरता नहोस् भन्ने हाम्रो चाहना हो ।” 

रास्वपा अहिले सङ्गठन निर्माणका क्रममा रहेको उनको भनाइ थियो । सङ्गठन निर्माणसँगै रास्वपाले सरकारका कामप्रति निरन्तर खबरदारी गरिरहने उनले बताए । 
 
फरक प्रसङ्गमा सभापति लामिछानेले सरकारले ल्याएको बजेट पास भए पनि यसले जनताको चाहनाअनुसार काम गर्न नसक्ने टिप्पणी गरे । उनले भने, “अहिले मुलुकको जुन अवस्था छ । अवस्था सुहाउँदो बजेट बनोस् भन्ने हाम्रो चाहना थियो । तर त्यो हुन सकेन ।” 

बजेट संसद्बाट पास हुनुलाई स्वाभाविकरुपमा लिएको बताउँदै उनले अहिलेको बजेट नियमित बजेट जस्तो भएको बताए । उनले भने, “अहिलेको बजेटबाट व्यापारी, वैदेशिक दातृ निकायलगायतका संस्था खुसी हुन सकेका छैनन् ।” इतिहासमा पहिलो पटक मतदानबाट बजेट पास भएको बताउँदै उनले नागरिकको आवश्यकता सम्बोधन गर्न सरकारलाई आग्रह गरिरहने बताए । 

Logo