केन्द्रबिन्दु एक्सप्रेसः ललिता निवासमा काठमाडौं महानगर छिर्‍याे, सम्पूर्ण संरचना खाली गर्न सात दिने अल्टिमेटम

केन्द्रबिन्दु एक्सप्रेसः ललिता निवासमा काठमाडौं महानगर छिर्‍याे, सम्पूर्ण संरचना खाली गर्न सात दिने अल्टिमेटम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाले ललिता निवास परिषर् भित्र बनाइएका संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको छ । महानगर प्रमुख बालेन शाहको निर्देशनमा निवास पुगेको महानगर प्रहरीले संरचना हटाउन भनेको हो । संरचना हटेपछि निवास परिषर् यकिन गरेर तारबार गर्ने तयारी महानगरको छ।

बजेटप्रति असन्तुष्टि जनाउँदै आएको नेकपा एमालेले विरोध कायम राखेपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ । अर्थमन्त्री धनबहादुर मास्कीले आगामी आर्थिक वर्षको बजेटमाथि विचार गरिओस भन्ने प्रस्ताव पेस गर्नेवित्तिकै एमाले सांसदहरुले रोष्ट्रम घेराउ गरेका थिए । सरकारले बजेट बारे लिखित जवाफ दिनु पर्ने एमालेको माग छ । 

यस्तै बाग्मती प्रदेशसभा प्रतिपक्षी दलको नाराबाजीका कारण प्रभावित भएको छ। सरकारले एकपक्षीय बजेट ल्याएको भन्दै एमाले, राप्रपा र नेमकिपाका सांसदहरुले बैठक अवरुद्ध पारेका हुन्। एमाले र राप्रपाको अवरोधले यसअघि पनि दुई पटक बैठक अवरुद्ध भएको थियो। 

कर्णाली प्रदेशमा भने सत्तापक्ष र प्रमुख प्रतिपक्षी एमालेबीच ७ बुँदे सहमति भएको छ। सभामुख नन्दा गुरुङको मध्यस्ततामा आइतबार भएको छलफलमा सहमति जुटेसँगै प्रदेश सभाको अवरोध पनि हटेको छ। सहमतिअनुसार आगामी आर्थिक वर्ष सरकारबाट १५ लाखभन्दा कम रकमका योजनाहरु कार्यान्वयन नगर्ने सहमति दुई पक्षको भएको हो।

प्रतिनिधिसभाबाट बजेट आश्रित आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने बुहमतले पारित भएको छ। विनियोजन विधेयक अघिल्लै साता पारित भएको थियो। प्रतिनिधिसभाको अर्को बैठक बुधबार बस्नेछ। 

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आगामी शुक्रबारसम्ममा सार्वजनिक गर्ने भएको छ। परीक्षाफल प्रकाशनको अन्तिम कामहरु भइरहेको जनाउदै बोर्डले शुक्रबारसम्ममा सम्पूर्ण काम सम्पन्न गर्ने उल्लेख गरेको हो।

काठमाडौंमा सञ्चालनमा रहेका सहकारीमध्ये १५० वटा समस्याग्रस्त रहेको एक अध्ययनले देखाएको छ। तीमध्ये ६८ वटा जटिल अवस्थामा रहेको र सीआईबीले अनुसन्धान गरिरहेको छ। 

धरानका मेयस हर्क साम्पाङलाई लन्डनको वर्ल्ड बुक अफ रेकर्डस्ले सम्मान गरिएको छ। मात्रै ९८ दिनमा स्थानीय कोकाहा खोलाबाट करिब ४२ किलोमिटर पाइपलाइन लानेर पानी धरानसम्म ल्याउन सफल भएकाले उक्त सम्मान प्रदान गरिएको हो। 

चितवन इच्छाकामनाको तीन किलोमा बारम्बार खसेको पहिरोले यात्रुहरुको बिचल्ली भएको छ। शनिबार राति ठूलो पहिरो खसेपछि नारायणगढ मुग्लिन सडक अवरुद्ध हुँदा आइतबार दिनभर नै यात्रुहरु बीच बाटोमै बस्न बाध्य भए। 

नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशन आईओसीको सबै बक्यौता रकम चुक्ता गरेको छ। निगमका प्रवक्ता मनोजकुमार ठाकुरले आईओसीको २४ अर्ब रुपैयाँ भुक्तान गरेको बताए। एनओसीले राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब रुपैयाँ पनि तिरेको बताउँदै ठाकुरले अब नेपाल सरकारको ६ अर्ब ३० करोड भुक्तान गर्न बाँकी रहेको बताए। 

भारतबाट डिजेलको मूल्य बढेर आएको छ। डिजेल प्रतिलिटर २ रुपैया १६ पैसाले बढेर आएको हो। पेट्रोलको मूल्य प्रतिलिटर १४ पैसा र मट्टितेलको मूल्य ५ पैसाले घटेर आएको नेपाल आयल निगमले जनाएको छ। 

सेयर बजार नेप्से कारोबार हुने साताको पहिलो दिन आइतबार ५३ दशमलब ७० अंकले घटेर २ हजार ९७ दशमलब २९ अंकमा आएको छ। कारोबार रकम पनि घटेर ५ अर्बमा सीमित बनेको छ। 

Logo