रत्ननगर नगरपालिकाले ‘गोठगोठमा भेटेरिनरी र खेतखेतमा कृषि प्राविधिक’ भन्ने नाराका साथ कृषिलाई प्राथमिकतामा राखेको छ। कृषि क्षेत्रको विकासका लागि प्रणालीगत सुधार गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न यस्तो अभियान अघि सारिएको हो।
नगर प्रमुख प्रह्लाद सापकोटाका अनुसार वस्तुको बजारीकरण, क्षमता अभिवृद्धि र अनुगमन–मूल्याङ्कन कार्यलाई आधार मानी कृषि र भेटेनरी प्राविधिकको व्यवस्था गरेर प्रत्यक्ष लाभ हुने गरी काम गर्न लागिएको हो। उनले भन, ‘कृषकले सम्पर्क गरेसँगै हामी प्राविधिक पठाउँछौँ।’ नगरपालिकामा रहेका प्राविधिकले धान्ने अवस्था नभएमा जनशक्ति थपेर पनि घरघरमा सेवा दिने उनको भनाई छ ।
कृषिलाई प्रमुख प्राथमिकतामा राखेर नगरपालिकाले काम अघि बढाएको उनले बताए। कम लागतमा धेरै उत्पादन गर्न सकियोस् भन्नका लागि नगरपालिकाले विज्ञहरूसँग परामर्श गरेर कार्यक्रम अघि बढाएको उनको भनाई छ। उनले भने, “कृषकले अब आफ्नो परिश्रमको लागत पाउने गरी काम गर्ने वातावरण हामी बनाउँछौँ ।’
नगरपालिकाले दूध उत्पादक र सहकारी संस्थाले किसानसँग खरिद गर्ने दूध र बिक्री गर्ने मूल्यमा एकरूपता कायम गर्ने उनले बताए। पशुपालनलाई प्रभावकारी बनाउन सन्तुलन पशु आहारका लागि दाना उद्योग सञ्चालन, हरियो घाँस, साइलेज प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने नगरपालिकाको योजना छ।
व्यावसायिक किसान र न्यून आय भएका किसानको पहिचान गरी मापदण्डबमोजिमका अनुदान कार्यक्रममा सहभागिताको लागि व्यावसायिक किसानलाई ४० प्रतिशत र गरिब न्यून आय भएका किसानलाई ६० प्रतिशत सहभागिता गराउने प्रमुख सापकोटाले बताए। यसबाट साना किसानलाई संरक्षण गर्दै व्यवसायीकरणतर्फ उन्मुख गराउने लक्ष्य नगरपालिकाले राखेको छ।
नगरभित्र उत्पादित कृषि तथा पशुजन्य सामग्रीको कोसेली घर मार्फत बिक्री वितरणको व्यवस्था गरिने भएको छ। नगरपालिकाले नश्ल सुधार कार्यक्रमलाई नगरभित्र अभियानका रूपमा अघि बढाउने भएको छ। नगरपालिकाले अनुदान कार्यक्रमलाई व्यवस्थित गर्दै बीउ पुँजीको रूपमा सञ्चालन गर्ने जनाएको छ।





























प्रतिक्रिया