बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ७ पेडारी गाउँमा सडक निर्माणमा ढिलाई हुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । ठेक्का लिएको कम्पनीले सडक निर्माणमा ढिलाई गर्दा स्थानीयले सास्ती खेप्नु परेको हो ।
लामो समयसम्म पनि सडक निर्माणमा ठेकेदार कम्पनीले सडक निर्माणमा आनाकानी गर्दा स्थानीयलाई हिँड्डुल गर्न गाह्रो भएको स्थानीयको गुनासो छ । सडक निर्माणको लागि ठेक्का पाएको बिएलएल निर्माण कम्पनीले ३ पटक समय थप्दा पनि सडक निर्माणको कार्य पूरा गर्न नसकेको स्थानीय दीप कथारुले बताए । उनले भने, ‘ठेक्का पाएको कम्पनीको लापरवाहीले गर्दा हामीलाई एकदम सास्ती खेप्नुपरेको छ, समय थपेको थप्यै छ हामी जस्तो सोझा सीधा जनतालाई भने बाटोमा हिँडडुल गर्न, उपचार तथा सवारीसाधन चलाउन एक दम गाह्रो भैरहेको छ ।’
३ बर्ष पहिले नै सडक निर्माणको कार्य सम्पन्न हुनुपर्ने हो तर ठेकेदार र स्थानीयपालिको लापरवाहीले सडक निर्माणमा ढिलाई भएको स्थानीय राधेश्याम थारुको आरोप छ । वडाको बजेटबाट निर्माण हुन लागेको सडक ठेकेदार कम्पनीले वास्ता नगर्दा आमजनतालाई दुःख खेप्नुपरेको उनको गुनासो छ ।
विरामी पर्दा एम्बुलेन्स आउन नसक्ने स्थिति रहेको उल्लेख गर्दै उनले भने, ‘उपचार गर्न वा अटोरिक्साचल्न र हिँड्न सक्दैन बल्लबल्ल मोटरसाइकल गुड्छ, मोटरसाइकल र साइकलमा कतिपटक मेरै आँखा अगाडि मान्छे लडेको देखेछु, चोटपटक लागेर विरामी समेत भएका छन् यसको जिम्मा कस्ले लिने ? ’
स्थानीय तहका जनप्रतिनिधिलाई खबर गर्दा अहिले आउने र कामको प्रक्रिया अगाडि बढाउने भन्ने गरे पनि कार्यन्वयन नगर्ने गुनासो स्थानीय भरतकुमार थारुको छ । छिटो सडक निर्माणका लागि पालिकामा डेलिगेशन गयो तर पनि सुनवाई नभएको पनि उनले बताए ।
उनले भने, ‘पालिकाले ३ दिनभित्रकाम अगाडि बढाउने आश्वासन दियो तर कार्यन्वयन गर्न सकेन, काम गरेजस्तो गर्ने तर एकछिन मै भाग्ने गरेका छन्, ४५० मिटर सडक निर्माण गर्न ३ बर्ष बढि समय लाग्यो अझ बनेन स्थानीयलाई सास्ती कहिलेसम्म स्थानीयले गुनासो गर्ने ।’
स्थानीय निवर्तमान जनप्रतिनिधि वडा सदस्य गोपाल थारुले ३ बर्षमा ३ पटक समय थप्दा पनि निर्माण कार्य अपूरो भएको र खाली जनतालाई आँखामा छारो हाल्ने जस्तै कार्य मात्र भएको बताए ।
गाउँपालिका वडा ७ पेडारीका वडाअध्यक्ष दिनेश थारुले भने ठेकेदारलाई सडक निर्माणको कामलाई छिटो अगाडि बढाउनुस् भन्दा नसुने झैँ गरेको बताए । धेरैजसो निर्माण कम्पनीको जिम्मेवार व्यक्तिले फोन नउठाउने गरेको उनको भनाइ छ ।
यता बिएलएल निर्माण कम्पनीका गोपाल आचार्य ०७७ जेठमा सम्झौता भएको सडक निर्माणबारे पालिकाले निर्णय नगर्दा ढिलाई भएको दावी गर्छन् । उनले भने, ‘हामीले ग्राभेल हालेको ठाउँमा पालिकाले अर्को नाली निर्माणको सम्झौता ढिलाई गर्दा र नालीनिर्माण गर्दा ग्राभेल हालेको ठाउँमा नालीनिर्माण हुँदा समस्या बल्झिएको हो । तेश्रो पटकको सम्झौताको म्यादपनि ०८० असार १५ गते सकिए पनि काम अझै हुनसकेको छैन ।’
यस्तै गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले भने ठेक्का पाएको कम्पनीबारे नियम संगत कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढेको बताए । उनले भने, 'काम राम्रोसंग नगर्ने र ढिलाई गर्ने कम्पनीको लिस्ट तयार हुँदैछ, कानुनअनुसार प्रक्रिया अगाडि बढेको छ अब त्यस्ता कम्पनीलाई कालोसूचीमा राख्ने पालिकाले निर्णय गरेको छ । पेडारीको सडकको लागि बारम्बार तोकता गर्दा पनि निर्माण कम्पनीले चासो नदिँदा अव कालोसूचीमा राख्नु बाहेक अर्को विकल्प छैन ।'





























प्रतिक्रिया