कोभिड-१९ को रोकथाम र उपचारलाई थप प्रभावकारी बनाइने

कोभिड-१९ को रोकथाम र उपचारलाई थप प्रभावकारी बनाइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

मुलुकभर कोभिड–१९ सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचार लगायत कार्यलाई थप प्रभावकारी र समन्वयात्मक रुपमा गर्न ‘कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र’ (सीसीएमसी) निर्देशक समितिको संरचनामा केही व्यक्ति थप गर्न प्रस्ताव गरिएको छ ।

सीसीएमसी निर्देशक समितिको शुक्रबार बसेको बैठकले समितिको संरचनामा काठमाडौँ उपत्यकामा रहेका नगरप्रमुखहरुको सञ्जालका अध्यक्ष, उपाध्यक्ष र सचिवलाई आमन्त्रित सदस्यका रुपमा आमन्त्रण गर्ने बारेमा छलफल गरेको छ । साथै समितिको प्रादेशिक संरचनामा स्वास्थ्य निर्देशनालयका प्रमुख र जिल्लास्तरीय संरचनामा जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुखलाई थप गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्नेबारे छलफल भएको समितिले जनाएको छ ।

बैठकमा उद्योगका मेशिन उपकरण मर्मत जस्ता कार्यका लागि अति आवश्यक प्राविधिक विदेशबाट ल्याउनु परेमा नेपाल आउन अनुमति दिने सम्बन्धमा स्वीकृतिका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्नेबारेमा समेत छलफल भएको थियो ।

यसैगरी नेपालमा लगानी गरेका लगानीकर्ता वा निजका प्रतिनिधि, नेपालमा शाखा खोली कारोबार गरिरहेको बहुराष्ट्रिय निगमका व्यवस्थापक, कर्मचारी र अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था प्रमुख वा कार्यरत कर्मचारीलाई सम्बन्धित मन्त्रालयको सिफारिसमा स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गर्ने गरी नेपाल आउने सम्बन्धमा सम्बन्धित मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्नेबारे बैठकमा छलफल भएको बताइएको छ ।

साथै हाल कायम अन्तर्राष्ट्रिय हवाई उद्धार उडान सम्बन्धी तालिकालाई पुनः परिभाषित गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समन्वय गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जुलाई १२ पछिका एक हप्ताका लागि अन्तर्राष्ट्रिय हवाई उडान तालिका स्वीकृत गर्ने सम्बन्धमा समेत छलफल भएको बताइएको छ ।

Logo