काठमाडौं ।
मनसुनका कारण देशव्यापी रुपमा भारी वर्षा भएकाले झण्डै ५०० मेगावाट बराबरको विद्युत् उत्पादन बन्द भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् आयोजनाका केही आयोजनाबाट उत्पादन बन्द भएको हो । वर्षाका कारण खोला तथा नदीमा आएको बाढीका कारण विद्युत् उत्पादन बन्द भएकाले व्यवस्थापनका लागि समेत समस्या पैदा भएको छ । बाढीका कारण प्राधिकरणको २४० मेगावाट र निजी क्षेत्रका आयोजनाको २५० मेगावाट उत्पादन बन्द भएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षाका कारण मुलुकभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित भएको बताए । बाढीका कारण प्राधिकरणका विद्युत् गृहबाट करिब ४० प्रतिशत विद्युत् उत्पादन बन्द भएको उनले बताए। “विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित हुँदा विद्युत् आपूर्तिमा गडबढी भएको छ, करिब ५०० मेगावाट उत्पादन हुँदा पनि केही ठाउँमा न्यूनतम विद्युत् कटौती गरी आपूर्तिको व्यवस्थापन गरिरहेका छौँ”, कार्यकारी निर्देशक घिसिङले भने।
आफ्ना विद्युत् गृहबाट विद्युत् उत्पादन बन्द भएपछि कटैया, ढल्केबरबाट थप विद्युत् आयात गरी आपूर्तिको बन्दोबस्ती भइरहेको उनको भनाइ छ । कार्यकारी निर्देशक घिसिङले बन्द रहेका विद्युत् गृह, प्रसारण तथा वितरण लाइन सञ्चालन गरी विद्युत् आपूर्तिको व्यवस्थापन गर्न प्राविधिक टोली अहोरात्र खटिरहेको जानकारी दिए ।
बाढीका कारण नेपालकै हालसम्मकै सबैभन्दा ठूलो १४४ मेगावाटको कालीगण्डकी ‘ए’ विद्युत गृह शुक्रबार बिहान ८ बजेदेखि बन्द भएको छ । कालीगण्डकी नदीमा पानीको बहाव झन् बढेर आएकाले विद्युत् गृह कतिबेला सञ्चालन गर्न सकिन्छ अहिले नै केही भन्न नसकिने केन्द्रका प्रमुख पशुपति गौतमले जानकारी दिए। प्राधिकरणका ७० मेगावाटको मध्यमर्स्याङदी, १६ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट विद्युत् गृह पनि बन्द रहेको छ । निजी क्षेत्रको ४५ मेगावाटको माथिल्लो भोटेकोशी लगायतका विद्युत् गृहको करिब २४० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।
यस्तै वर्षाका कारण इलामको सिद्धीथुम्कामा काबेली करिडोर प्रसारण लाइनमा क्षतिपुग्दा यस लाइनमा जोडिएका विद्युत् आयोजनाहरुको करिब १५० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । भारी वर्षाका कारण प्रसारण तथा वितरण लाइनको तार चुँडिने, रुखहरु ढल्दा लाइनमा क्षति पुग्दा विद्युत् आपूर्तिमा समस्या भएको प्राधिकरणले जनाएको छ ।रासस





























प्रतिक्रिया