काठमाडौं ।
भारी वर्षासँगै आएको बाढी, पहिरोमा परेर शुक्रबार मुलुकभर २३ जनाले ज्यान गुमाएका छन् । अन्य ३४ जना बेपत्ता छन् ।
कतिपय ठाउँमा उद्धार टोली जान नसकेको र कतिपय स्थानमा उद्धारको क्रम जारी रहेकाले अझै यकिन विवरण आइनसकेको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।
सबैभन्दा बढी मानवीय क्षति म्याग्दीमा भएको छ । म्याग्दी, जाजरकोटमा उद्धार टोलीसमेत पुग्न नसकेकाले गाउँकै सानो उद्धार टोलीले काम गरिरहेको छ । हेलिकप्टर जाने तयारी गरिए पनि खराब मौसमका कारण जान नसकेको केन्द्रका प्रमुख मुरारी वस्तीले जानकारी दिए। स्थानीय तह, रेडक्रस, स्थानीय प्रशासन लगायतको समन्वयमा राहत तथा अन्य व्यवस्थापनको काम जारी रहेको जनाइएको छ ।
प्राप्त विवरण अनुसार म्याग्दीको धवलागिरि गाउँपालिका लगायत विभिन्न स्थानमा गएको पहिरोमा परेर तीन जनाको मृत्यु भएको र अन्य २९ जना वेपत्ता रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले जानकारी दिए। प्रहरी टोलीले सो क्षेत्रमा उद्धार कार्य जारी राखेकोसमेत उनले बताए ।
जाजरकोटको चारेकोट गाउँपालिका–४ जिरीमा पहिरो जाँदा सातको मृत्यु भएको छ भने अन्य पाँच जना बेपत्ता छन् । कास्कीको सराङ्कोट, हेम्जा र पैतेडाँडामा पहिरो जाँदा ७ जनाको मृत्यु भएको छ भने १७ जना घाइते छन् ।
लम्जुङको बेँसीशहर नगरपालिका–७ स्थित सातबिसेमा पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ । गुल्मी र रुकुममा पनि विपदबाट तीन जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।
यसअघि बिहीबार सिन्धुपाल्चोकको बाह्रबिसेलगायत क्षेत्रमा ठूलो भेल पहिरो खस्दा दुई जनाको मृत्यु भएको र अन्य २० जना अझै बेपत्ता रहेको केन्द्रले जनाएको छ ।





























प्रतिक्रिया