अर्थमन्त्री डा.प्रकाश शरण महतले नेपाली कांग्रेसको बारेमा नियोजित रुपमा पार्टीभित्रै बाट र सामाजिक सञ्जाल मार्फत गालीगलौंचसहित नकारात्मक प्रचार गरिएको बताएका छन्।
यस्तो अवस्थामा अब पार्टी चुपलागेर बस्न नहुने धारणा उनको छ। ललितपुरको धापासीमा आयोजित वीपी कोइरालाको ४१ औँ स्मृति दिवसको अवसर पारेर आयोजना गरेको वृक्षरोपण कार्यक्रममा मन्त्री महतले वीपीले सत्यको पक्षमा बोल्न अभिप्रेरित गरेको उल्लेख गरे। उनले सत्यको पक्षमा लाग्न वीपीबाट प्रेरणा लिनुपर्ने बताए।
अहिले असाधारण रुपमा कांग्रेसको व्यक्ति,प्रवृति र कार्यको विरोध सामाजिक सञ्जाललगायत पार्टी भित्रै बाट भइरहेको भन्दै कांग्रेस चुप लागेर बस्न नहुने र आफ्ना स्पस्ट धारणा राख्नुपर्ने उनको भनाइ छ।अहिले कांग्रेसको नियोजित पार्टी,प्रवृति,कार्यशैलीलगायका विविध विषयमा सामाजिक सञ्जालबाट प्रहार भएको आरोप लगाउँदै उनले भने, ‘अहिले त झुटोको थुतुनो चलिराको छ। सामाजिक सञ्जालमा चोर भन्छन्,यिनीहरु फटाहा हुन् भन्देको छ,कांग्रेस खत्तम हो, कांग्रेसको फलानो त झन फटाहा हो भन्देको छ,नियोजित प्रचार भएको छ। अव सत्य नबोलेर चुपो लागेर बस्ने हो भने के हुन्छ? चुप लागेर त्यसलाई प्रतिकार नगर्ने हो भने,आफ्ना कुराहरु नराख्ने हो भने झुटोको साम्राज्य स्थापित हुन्छ।’
मन्त्री महतले सामाजिक सञ्जालमा अनेकौं झुटो प्रचार हुने गरेको भन्दै त्यसको प्रतिकार नगरेर चुप लागेर बस्ने भए सत्यको पराजय हुने भन्दै वीपीको भनाई बाट सिकेर सत्यको पक्षमा बोल्न छोड्न नहुने धारणा राखे।
‘वीपीको भनाईबाट अहिले हामीले सिक्ने के हो भने जसले जे सुकै भनेपनि हामी ठीक ठाउँमा छौं,सत्यको पक्षमा छौं भने बोल्न छोड्नु हुँदैन्। हामीले आफैंले आफैंलाई आरोप लगाउने,हामी खत्तम हो भन्ने गर्न थाल्यौं भने देश अगाडि बढ्दैन,’महतले भने।
त्यस्तै,उनले नयाँ राजनीतिक दल र कार्यकर्ताले सानो काम गरे पनि सामाजिक सञ्जालमा देखाएर प्रचार गर्ने प्रवृति बढेको भन्दै व्यङ्य गरे। आफ्नो पार्टी र कार्यकर्ताले धेरै काम प्रत्येक दिन गर्दै आए पनि प्रचारका लागि सामाजिक सञ्जालमा नहालेको जिकिर गरे। तर, पछिल्लो समय सामाजिक सञ्जालले नै प्रचारद्वारा लोकप्रियता बढाएको दृष्टान्तलाई मध्यनजर गरेर आफ्नो पार्टीका राम्रा कामलाई प्रचार गर्नुपर्ने धारणा उनले राखे।































प्रतिक्रिया