खस्कदो बलिङ र ब्याटिङका कारण गोल्डेन जेनरेसनको भविष्य खतरामा [भिडियाेसहित]

खस्कदो बलिङ र ब्याटिङका कारण गोल्डेन जेनरेसनको भविष्य खतरामा [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

नेपालले पछिल्लो समय खेलेको १० खेलहरुमध्ये ७ खेलमा हार र तीन खेलमा मात्र जित निकाल्न सफल भएको छ । केही समययता निकै बिजी सेड्युलमा प्र्रतियोगिताहरु खेल्दै आएको नेपालले वैदेशिक यात्रामा खेल जित्नै बिर्सेको छ भन्दा अतिश्योक्ति नहोला । 

भारतीय प्रशिक्षक मोन्टी देशाईको आगमनसँगै लिग–२ को यात्रामा एकपछि अर्को जित हात पार्दै विश्वकपमा छनोट भएको नेपाली टोलीले दक्षिण अफ्रिका, जिम्बाब्वे र हाल श्रीलंकामा जित्नै बिर्सेको छ । विश्वकप छनौटका लागि जिम्बाब्वे उडेको नेपाली टोलीले टेष्ट राष्ट्रविरुद्ध कुनै पनि समय हावी बन्नै सकेन । विश्वकप छनोटमा नेपालले खेलेका ६ म्याचमध्ये ३ वटा म्याच टेस्ट मान्यताप्राप्त राष्ट्रविरुद्ध थिए । समग्रमा नेपालले दुई जित र चार हार प्राप्त गर्दै १० राष्ट्र सहभागी प्रतियोगितामा आठौं बन्यो । सुपर ६ मा पुग्ने लक्ष्य बोकेर गएको नेपालका लागि यो सुखद नतिजा होइन । नेपालको उपस्थिती कमजोर बन्दा अन्य एशोसिएट राष्ट्रले भने फाइदा उठाए । टेस्ट मान्यताप्राप्त राष्ट्र जिम्बाब्वे र वेष्ट इन्डिजलाई पाखा लगाउँदै नेदरल्याण्ड केहीसमयपछि भारतमा हुने विश्वकपमै छनोट भयो । नेपालले जिम्बाब्वेमा न ब्याटिङमा राम्रो गर्न सक्यो न त बलिङमै कुनै उल्लेख्य सुधार गर्न सक्यो । 

जिम्बाब्वेमा प्रतियोगिता सुरु हुनुअघि नै नेपालले बलिङमा कुनै पनि हालतमा सुधार ल्यानुपर्ने जरुरत थियो । तर नेपालले बलियो पक्ष बनाउँदै आएको ब्याटिङका कारण खस्कदो बलिङ कसैको नजरमा पर्न सकेको थिएन । घरेलु भुमिमै नेपालले यूएई, ओमान र अमेरिकाविरुद्ध २५० देखि ३०० रन बनाउन दिई रहेको थियो । तर नेपालको बलियो ब्याटिङ अर्डरले सो कमजोरीलाई छोप्दै आएको थियो । सोही कमजोरी टेष्ट राष्ट्रविरुद्ध जिम्बाब्वेमा छताछुल्ल भयो । अझ जिम्बाब्वे यात्राका क्रममा नेपालले सुधारिसकेको ब्याटिङ लाइनअफ पनि कमजोर बनाउँदै लग्यो । 

भरपर्दा भनिएका कप्तान रोहित पौडेल, आसिफ र आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेललगायत कुनै पनि नेपाली खेलाडी जिम्बाब्वे यात्रामा उल्लेखनिय प्रदर्शन देखाउन सकेनन् । पहिलो खेलमा जिम्बाब्वेविरुद्ध शतक बनाउन चुकेका कुशल भुर्तेल बाँकीका कुनै पनि खेलमा चम्किन सकेनन् । 

पहिलो खेलमै जिम्बाब्वेलाई २९१ रनको विशाल लक्ष्य दिन सफल नेपालको बलिङ जिम्बाब्वे सामु निकै फितलो सावित भएको थियो । जिम्बाब्वेले मात्र दुई विकेट गुमाउदै ४४.१ ओभरमै नेपालले दिएको लक्ष्य सहजै भेट्याएको थियो । 

यसैगरी दोस्रो खेलमा एसोसिएटस राष्ट्र अमेरिकाविरुद्ध ६ विकेटको जित निकालेको नेपालले तेस्रो खेलमा अर्को बलियो टेष्ट राष्ट्र वेष्ट इन्डिजसँग १०१ रनले हारेको थियो । ३४० रनको विजयी लक्ष्य पछयाएको नेपालले ४९.४ ओभरमै अलआउट हुँदै २ सय ३८ रनमा समेटिएको थियो । 

वेष्ट इन्डिजविरुद्ध नेपालका लागि आरिफ शेखले मात्र अर्धशतकिय पारी खेल्न सफल भएका थिए । वेष्ट इन्डिजविरुद्ध नेपालका उत्कृष्ट भनिएका बलरहरु सन्दीप लामिछाने, करण केसी, गुल्सन झालयायत खेलाडीहरुको बलिङ कुनै पनि समय वेष्ट इन्डिजविरुद्ध हावी हुन नसक्दा ३४० रनको विशाल लक्ष्य नेपालले पाएको थियो । 

त्यस्तै चौथो तथा जित्नै पर्ने महत्वपूर्ण खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपाल सस्तैमा आउट भएको भयो । माथिल्लो क्रममा कुनै पनि खेलाडीहरु चल्न नसक्दा नवौं नंबरमा ब्याटिङका लागि आएका स्पिनर सन्दीप लामिछानेले २७ रन बनाएर नेपाललाई १६७ रनको सम्मानजनक स्थितिमा पुर्याएका थिए । जित्नै पर्ने चौथो तथा महत्वपूर्ण खेलमा सन्दीप बाहेक अन्य कुनै पनि खेलाडीको प्रदर्शन सम्झन लायन रहेन । १६७ रनको झिनो लक्ष्य पछयाएको नेदरल्यान्ड्सले ३ विकेट गुमाउदै 
नेपालको विश्वकप खेल्ने सपनामा तुसारापात गराएका थिए । नेदरल्यान्ड्सविरुद्धको हारसँगै नेपालको सुपरसिक्स खेल्ने सम्भावना सकिएको थियो । जिम्बाब्वे यात्रामा समुहचरणबाटै बाहिरिएको टिम नेपालले जिम्बाब्वेमै यूएई र आयरल्यान्डसँग सातौं स्थानका लागि प्रतिस्पर्धा गर्नुपरेको थियो । जहाँ नेपालले आफ्नो परम्परागत प्रतिद्धन्द्धी यूएईविरुद्ध जित र आयरल्यान्डविरुद्ध हार्दै १० टोली सम्मेलित प्रतियोगितामा आठौं बन्दै बाहिरिएको थियो । 

विश्वकप छनोटको समूह चरणबाटै बाहिरिएको नेपाल हाल श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपबाट पनि बाहिरीसकेको छ । आठ टोली सम्मेलित प्रतियोगितामा नेपालले पहिलो खेल पाकिस्तान ‘ए’ र दोस्रो खेल इन्डिया ‘ए’ टोलीसँग खेलिसकेको छ । नेपालले दुबै खेलमा हार ब्यहोर्दै आफ्नो पराजित लयलाई निरन्तरता दिइरहेको छ । एक महिनापछि पाकिस्तान र श्रीलंकामा हुने एसिया कपको तयारीका रुपमा हेरिएको इमर्जिङ टिम्स एसिया कपमा नेपालको प्रदर्शन बिर्सन लायक रहयो । नेपालले आफ्नो समुहमा रहेको तीन टोलीमध्ये उही पुरानो प्रतिद्धन्द्धी यूएई ‘ए’ लाई हराउनु बाहेक अन्य कुनै पनि प्रकारको प्रभाव छाड्न सकेन । 

पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग १८० रनमै अलआउट बनेको नेपाली टोलीको माथिल्लो क्रमले टिकेर खेल्नै सकेन । नवौं नंबरमा ब्याटिङ गर्न आएका आएका सोमपालले मात्र सर्वाधिक अर्धशतकीय इनिङ खेल्न सके । टेष्ट मान्यता प्राप्त राष्ट्रको ‘ए’ टोलीसँग न नेपाली टोलीले ब्याटिङमै सुधार गर्न सक्यो न त बलिङमै । पाकिस्तानसँग जसोतसो १८० रन ल्याउन सफल टोलीले भारतीय ‘ए’ टोलीसँग १६८ रनमै अल आउट हुन पुग्यो । 

नेपालको बलियो ब्याटिङ लाइनअफ भारतीय बलरहरुका अघि ३७.२ ओभरमात्र टिक्न सक्यो । भारतविरुद्धको खेलमा भने कप्तान रोहित पौडेलले अर्धशतक बनाउन सफल भए भने अन्य ब्याटसम्यानहरु कोही पनि टिकेर खेल्नै सकेन । भारतीय खेलाडीहरुले नेपालले दिएको १६८ रनको लक्ष्य सहजै २२ ओभरमै पुरा गर्यो । 

यसैगरी बुधबार भएको अन्तिम खेलमा नेपालले यूएईलाई ३ विकेटले हराउँदै प्रतियोगिताकै एक मात्र सान्तवना जित हात पर्न सफल भएको छ । टस जित्दै पहिले बलिङ गर्ने निणर्य लिएको नेपाली क्रिकेट टोलीले यूएईलाई १५८ रनमै अलआउट भएको थियो । बुधबारको खेलमा ओपनर कुशल भुर्तेलले सर्वाधिक ७१ रनको अर्धशतकीय इनिङसँगै यूएईविरुद्ध एक्लैले ६ विकेट लिन सफल भए ।

श्रीलंका र पाकिस्तानले संयुक्त रुपमा एक महिनापछि आयोजना गर्ने एसियाकपका लागि अभ्यास खेलका रुपमा हेरिएको एसीसी इमर्जिङ टिम्स एसिया कपको हार र जितबाट सिक्दै नेपाली टोलीले एक महिने कडा ट्रेनिङपछि बलियो टेष्ट्र राष्ट्र भारत र पाकिस्तानलाई बलियो चूनौती दिन सक्ने विश्वास लिइएको छ । 

भारत र पाकिस्तान पनि एकअर्काका लागि परम्परागत प्रतिद्धन्द्धी नै हुन् । दुबै राष्ट्रले एकअर्कालाई हराउन कुनै कसुर नराख्ने भएकाले नेपाल रहेको समुहमा नेपाल दोस्रो राउण्डमा पुग्न कडा प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । बलिङ र ब्याटिङ दुबैमा चुकिरहेको नेपाली टोलीले यही अवस्थामा एसियाकपमा राम्रो नतिजाको आशा नगरेकै राम्रो हुन्छ । टोलीले बलिङ र ब्याटिङ दुबैमा आमुल परिवर्तन ल्याउन अत्यावश्यक छ । एक महिने समयको अत्यधिक सदुपयोग गर्दै नेपाली टोलीले नयाँ प्रशिक्षक अथवा बलिया टोलीसँग लगातार मैत्रीपूर्ण खेलहरु खेल्न पाएको खण्डमा एसियाकपमा केही सकारात्मक नतिजाको अपेक्षा गर्न सकिन्छ । त्यसो नभएको खण्डमा नेपाली टोलीको गोल्डेन जेनरेसनको पतन सुरु भयो भन्नु सिवाय अर्को औचित्य नहोला !   
 

Logo