गृहमन्त्रीलाई ओलीको प्रश्न- सुन प्रकरणमा तपाईंको संलग्नता छ कि छैन ?

गृहमन्त्रीलाई ओलीको प्रश्न- सुन प्रकरणमा तपाईंको संलग्नता छ कि छैन ?

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाट समातिएको सय केजी सुन तस्करी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता रहेको आशंका व्यक्त गरेका छन्। 

कम्बोडियामा आइतबार सम्पन्न भएको निर्वाचन पर्यवेक्षण गरेर सोमबार राति स्वदेश फर्किएका एमाले अध्यक्ष ओलीले विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सुन प्रकरणमा गृहमन्त्रीको संलग्नता रहे नरहेको स्पष्ट पार्न आग्रह गरेका हुन्। 

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका एमाले अध्यक्ष ओलीले भने,‘नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ,आफू। उहाँले एयरपोर्टमा सुरक्षाको बन्दोबस्त गरेको छ की छैन? एयरपोर्टमा सेक्युरिटी गर्ने काम उहाँको हो की होइन? यहाँ के आउने के जाने ति चिजहरूको निरीक्षण गर्ने काम उहाँको हो की होइन? अनि क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ। गृहमन्त्री कोटको गालामा र टारको गालामा काँक्राको बियाँ अर्काको गालामा मुखैका छेउमा लगेर टाँस्दै बस्छन्। यो अत्यन्तै अनैतिक क्रियाकलाप हो। यस्ता गैर जिम्मेवार कुरा गरेर हिँड्ने गृहमन्त्रीले? उहाँले बताउनुपर्‍याे उहाँको संलग्नता छ छैन? सानोतिनो संलग्नताबाट यो काम त भएको छैन होला! उहाँको चाँहि संलग्नता छ छैन? छैन भने कसको संलग्नता छ? को छ यसमा? यतिकै कोटको गालामा बियाँ टाँस्ने होइन।’

गृहमन्त्री श्रेष्ठका पछिल्ला अभिव्यक्ति अनैतिक र गैरजिम्मेवार रहेको आरोप लगाउँदै ओलीले जथाभावि नबोल्न पनि आग्रह गरे। ओलीले  भने, ‘म उहाँलाई सचेत गराउन चाहन्छु। गृहमन्त्रीको हैसियतले उहाँले बोल्दा तरिका पुर्‍याएर बोल्नुपर्छ । बत्तमीज हुनु एउटा कुरा हो। तर यो त गैर जिम्मेवारको हद भयो । जथाभाबी बोल्ने गृहमन्त्री भएर?जथाभाबी बोल्न गृहमन्त्रीलाई छुट छ ?अनि अर्को कोही उनको जबाफदेहिताको कुरा उठायो भने मुद्दा हाल्न जाने ? गृहमन्त्रीविरुद्ध मुद्दा हाल्ने की नहाल्ने ? गृहमन्त्रीले कोट र टारका सम्बन्धमा चर्चा गरेको त्यसको अर्थ के हो ?’

सुन तस्कारी प्रकरणमा आफुलाई पनि जोडेर केही सञ्चार माध्यमले समाचार प्रकाशन तथा प्रशारण गरेको भन्दै ओलीले असन्तुष्टि जनाए । उनले भने, ‘चेम्बरको अधिवेशनमा खिचिएको व्यापारीसँगको फोटो गैर जिम्मेवार ढंगले छाप्यो । चेम्बरमा व्यापारी नभएर को किसान हुन्छ त ? त्यो फोटो छाप्छ । अत्यन्तै गैर जिम्मेवार ढंगले। यस्ता गम्भीर विषयलाई डाइभर्ट गर्न खोज्छ । ध्यान कता मोड्न खोजेको ? के छोप्न खोजेको? आकाशमा चिल देखाएर यता के लुकाउन खोज्दै छ ? के छोप्न खोजिँदैछ?

कम्बोडियाको निर्वाचन पर्यवेक्षणका लागिसाउन २ गते त्यसतर्फ गएका ओली सोमबार राति काठमाडौं आइपुगेका हुन्।कम्बोडियामा आइतबार सम्पन्न राष्ट्रिय निर्वाचनमा प्रधानमन्त्री हुन सेन नेतृत्वको कम्बोडियन पिपुल्स पार्टीले बहुमत प्राप्त गरेको छ। सेनको कम्बोडियन पिपुल्स पार्टीले कुल १२५ सिटमध्ये १२० सिट जितेको छ। 
 

Skip This
Skip This
Logo