गोरखापत्र संस्थानले आर्थिक वर्ष २०७९।८० मा ७२ करोड रुपैयाँ आम्दानी गरेको छ । कोभिडको महामारी र अर्थतन्त्रमा देखिएको वैश्विक संकटकै माँझ संस्थानले अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा २६ प्रतिशत आम्दानी वृद्धि गरेको हो ।
संस्थानको अर्थ विभागकाअनुसार आर्थिक वर्ष २०७८।७९ मा संस्थानको वार्षिक आम्दानी ५७ करोड भएको थियो । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले आन्तरिक पद्धति र उत्पादनको गुणस्तरमा व्यापक सुधार अभियान अगाडि बढाइएकाले विज्ञापन बजार सुस्ताएका बेलापनि संस्थानले गतआर्थिक वर्षमा तुलनात्मक रुपमा राम्रो सफलता प्राप्त गरेको बताए ।
कार्यकारी अध्यक्ष सुवेदीले सरकारी निकायसँगै निजी क्षेत्रसँगको समन्वय, सहकार्य र विश्वासको वातावरण निर्माण गरी गोरखापत्र संस्थानको व्यापार बृद्धि गरिएको बताए । उनकाअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रीको निर्देशनअनुसार संस्थानलाई नवीनतम् ढङ्गले अघि बढाउने लक्ष्यप्राप्तितर्फ संस्थान व्यवस्थापन क्रियाशील छ ।
कार्यकारी अध्यक्ष सुवेदीले संस्थानसँग उपलब्ध पूर्वाधार, जनशक्ति, प्राविधिक एवं भौतिक स्रोत साधनको प्रभावकारी उपयोग र परिचालन गर्दै ‘स्मार्ट यात्रा’तर्फ संस्थानको यात्रा उन्मुख भइसकेको बताए । उनले आन्तरिक एवं नीतिगत सुधार तथा आवश्यक पुनर्संरचनासहित गोरखापत्र दैनिक, दी राइजिङ नेपाल, युवामञ्च, मधुपर्क र मुनाको गुणस्तरमा अभिवृद्धि गरी संस्थानलाई सञ्चार क्षेत्रकै एउटा जीवन्त र सशक्त संस्थाका रूपमा विकास गर्न ठोस रणनीति र योजनासहित अघि बढेको बताए ।































प्रतिक्रिया