एमसिसी भदौदेखि कार्यान्वयनको तयारी, करिब नौ अर्ब लागत बढ्ने अनुमान

एमसिसी भदौदेखि कार्यान्वयनको तयारी, करिब नौ अर्ब लागत बढ्ने अनुमान

केन्द्रबिन्दु
0
Shares

नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) पूर्णरुपमा लागू हुने अवस्था (इन्ट्रि इनटु फोर्स-ईआइएफ)को चरणमा पुगेको छ।

आगामी भदौमा ईआइएफ मिति घोषणा गर्न लागिएको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) ले जनाएको छ। अमेरिकी अनुदानसम्बन्धी यो सम्झौतामा हस्ताक्षर भएदेखि लागू हुने अवस्थासम्म आइपुग्न छ वर्ष लाग्यो ।

यसबीचमा १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसिसी कम्प्याक्ट संसद्बाट अनुमोदन भइसकेको छ। ईआइएफअघि पूरा गर्नुपर्ने भनिएका छ वटा पूर्वसर्तमध्ये जग्गा प्राप्ति बाहेकका पाँचवटा शर्त पूरा भइसकेका छन्। 

तर, यसबीच एमसीए-नेपालअन्तर्गत हुने खर्चमा नेपाल सरकारले बेहोर्नुपर्ने दायित्वको अंश भने बढेको छ । सुरुआती सम्झौतामा एमसिसी परियोजनाका लागि कूल ६३ करोड अमेरिकी डलर बराबर लागत अनुमान गरिएको थियो । जसमध्ये ५० करोड अमेरिकी डलर एमसिसी अनुदान र १३ करोड अमेरिकी डलर नेपाल सरकारले बेहोर्ने कम्प्याक्टमा उल्लेख छ। 

तर गत जेठमा भएको एक ‘पूरक सम्झौता’पछि नेपाल सरकारले बेहोर्ने दायित्व छ करोड ७० लाख अमेरिकी डलर थप भइ १९ करोड ७० लाख अमेरिकी डलर पुग्ने देखिएको छ। समग्र परियोजनामा हुने खर्चको अनुमानसमेत ६३ करोड अमेरिकी डलरबाट बढेर ६९ करोड ७० लाख अमेरिकी डलर पुगेको छ ।

एमसीए-नेपालअन्तर्गत हुने कूल खर्चमा नेपाल सरकारले बेहोर्नुपर्ने दायित्वको अनुपात यसअघि २० दशमलव ६३ प्रतिशत रहेकोमा अब बढेर २८ दशमलव २६ प्रतिशत पुगेको छ। परियोजनामा नेपालले बेहोर्नुपर्ने गरी पछिल्लो पटक थपिएको दायित्व करिब रू नौ अर्ब बराबर हो ।

एमसीए-नेपालअन्तर्गतका परियोजना कार्यान्वयनमा अहिले देखिएको अर्को महत्वपूर्ण विषय हो,‘पूर्वशर्त पूरा नगरिकनै इआईएफ मिति घोषणाको तयारी।’  परियोजना लागू गर्नका लागि पूरा हुनुपर्ने शर्तमध्ये एउटा शर्त अझै अपूर्ण छ।

प्रसारणलाइन र सडक विस्तार आयोजनाका लागि आवश्यक जग्गाको मुआब्जा वितरण तथा प्राप्ति, वन क्षेत्रभित्रको जग्गा प्रयोग अधिकार सुनिश्चितता र परियोजना बन्ने क्षेत्रसम्मको पहुँचको पूर्वशर्त पूरा हुनसकेको छैन। 

तर,उल्लेखित यी विषय पूरा हुने आधार देखिएको भन्दै एमसीए-नेपालले ईआइएफ तोक्ने तयारी थालेको हो। ईआइएफ घोषणापछि पाँच वर्षभित्रमा यो परियोजनाको काम सम्पन्न गरिसक्नुपर्ने कम्प्याक्टको अर्को सर्त हो। जसकारण जग्गा प्राप्ति नसकिकनै एमसिसी कार्यान्वयनको मिति गणना थाल्दा आगामी दिनमा कुनै समस्या देखिएर तोकिएको समयभित्रै सम्पन्न हुनेमा शङ्का गर्नसक्ने ठाउँ छ। 

कसरी थपियो सरकारलाई नौ अर्ब दायित्व ?

अर्थ मन्त्रालयको प्रस्तावमा गत जेठ ९ गतेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल र एमसिसीबीच सम्पन्न सम्झौता संशोधन गरी नेपाल सरकारको योगदान वृद्धि गर्न स्वीकृति दिने’ निर्णय गरेको थियो। मन्त्रिपरिषद्को उक्त निर्णयका आधारमा जेठ १६ गते नेपाल विद्युत् प्राधिकरण र एमसीए–नेपालबीच आयोजना सहायतासम्बन्धी  सम्झौता भएको देखिन्छ।
 
उक्त सम्झौताको दुई दिनअघि जेठ १४ गते एमसीए-नेपालले एक विज्ञप्तिमार्फत् ‘नेपाल सरकारले नेपाल विद्युत् प्राधिकरणको अनुरोधअनुरुप एमसिसी कम्प्याक्टको विद्युत् प्रसारण आयोजनामा थप कार्य समावेश गर्ने निर्णय गरेको’ व्यहोरा सार्वजनिक गर्‍याे। यो कामका लागि आवश्यक पर्नसक्ने छ करोड ७० लाख अमेरिकी डलर बराबरको अनुमानित थप बजेट कम्प्याक्टको मूल बजेटबाटै खर्च गरिने र उक्त मूल बजेटको पूर्ण उपयोगपछि नपुगेको रकम नेपाल विद्युत् प्राधिकरणले बेहोर्ने विवरण पनि उक्त विज्ञप्तिमा खुलाइएको छ । 

त्यस्तै, थपिएको उक्त बजेटलाई हाल कम्प्याक्टका लागि नेपाल सरकारको योगदानका रुपमा लिइने र कार्यान्वयन पत्रमार्फत कम्प्याक्टको सम्बन्धित अनुसूचीमा परिमार्जन गर्ने त्यसमा उल्लेख छ।

“नेपाल-भारत सीमापार प्रसारणलाइन निर्माणका लागि अपुग हुने अनुमानित खर्चका लागि परिमार्जित बजेटको व्यवस्था गरी अनुसूची परिमार्जन गरिएको छ भने विद्युत् प्राधिकरणको वर्तमान तथा भावी कार्यदिशालाई ध्यानमा राखी तीनवटा सवस्टेशनमा थप बेज् जडान गरिने पनि परिमार्जित अनुसूचीमा उल्लेख छ”, उक्त विज्ञप्तिमा भनिएको थियो। 

सो विज्ञप्तिमा उल्लेखित यस्तो व्यहोराबाट पछिल्लो पटक थप गरिएको छ करोड ७० लाख अमेरिकी डलर बराबरको लागत रकम हाल निर्माण प्रक्रियामा रहेको न्यूबुटवल–गोरखपुर ४०० किलोभोल्ट नेपाल-भारत अन्तरदेशीय प्रसारणलाइनको नेपालतर्फको खण्ड र तीनवटा सबस्टेशनमा क्षमता बढाउन थप रकम खर्च हुन लागेको खुल्छ ।

तर न्यूबुटवल सबस्टेसनदेखि भारतको सीमासम्मको प्रसारणलाइन बनाउने भनेर एमसीसी कम्प्याक्टमा पहिल्यै उल्लेख भएको शीर्षकमा थप बजेट किन चाहिएको हो स्पष्ट देखिँदैन । 

एमसिसी कम्प्याक्टको अनुसूची-१ (ख) (१) मा एमसीए-नेपालअन्तर्गत बन्ने प्रसारण लाइनबारे उल्लेख छ। नेपालभित्र डबल सर्किट ४०० किलोभोल्टको लगभग तीन सय किलोमिटर प्रसारण लाइन बनाइने कम्प्याक्टमा जनाइएको छ ।

काठमाडौँको लप्सिफेदीदेखि रातामाटेसम्म, रातामाटेदेखि हेटौँडासम्म, रातामाटेदेखि दमौलीसम्म, दमौलीदेखि बुटवलसम्म, र बुटवलदेखि भारतीय सीमासम्म विभिन्न पाँचवटा खण्ड (रुट) मा प्रसारणलाइन बनाइने कम्प्याक्टमा उल्लेख छ ।

 अर्थात्, अहिले अतिरिक्त कामका लागि भनेर लागत थपिएको बुटवलबाट भारतीय सीमासम्मको प्रसारणलाइन बनाउने योजना साबिकको ६३ करोड अमेरिकी डलर बराबरको लागतभित्रै पर्नजान्छ ।

यसरी पहिल्यै लागत अनुमान गरेर कम्प्याक्टमा राखिसकेको उक्त प्रसारणलाइन खण्ड बनाउन थप बजेट छुट्याइएकोबारे बुझ्न राससले एमसीए–नेपाललाई प्रतिक्रिया मागेको थियो ।  

जवाफमा एमसीए–नेपालले एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रममा थप गरिएको रकम विद्युत् प्रसारण आयोजनाको बजेटमा गाभिने र यो बजेट नेपाल विद्युत् प्राधिकरणको आवश्यकता तथा अनुरोधअनुसार थप ‘बेज’ जडान गरी तीन वटा सबस्टेशनको क्षमता विस्तार गर्नका लागि प्रयोग गरिने जनाएको छ ।

यसरी गाभिएको भनिएको रकमलाई आयोजनाको लागत वृद्धि भएको भन्न मिल्ने हो वा होइन भन्ने राससको प्रश्नमा एमसीए–नेपालका तर्फबाट सूचना अधिकारी राजीव दाहालद्वारा प्राप्त जवाफमा पहिले तोकिएभन्दा अतिरिक्त काम गर्नुपर्ने भएपछि स्वाभाविकरुपमा लागत बढ्ने जनाइएको छ । 

“एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रममा नेपाल सरकारको तर्फबाट थपिएको रकमबाट नेपाल विद्युत् प्राधिकरणको आवश्यकता र अनुरोधअनुसार थप बेज जडान गरी निर्माणाधीन तीन वटा सबस्टेशनको क्षमता विस्तार गर्ने अतिरिक्त काम गर्न लागिएको छ”, एमसीएले भनेको छ, “पूर्वलक्षित कार्यमा अतिरिक्त कार्य थपिएपछि लागतमा पनि वृद्धि हुनु स्वाभाविक ह । तसर्थ आयोजनाको काम गर्ने दायरामा भएको वृद्धिका कारण थप लगानी गर्नुपर्ने आवश्यकता भएको भन्न मिल्छ।” 

Skip This
Skip This
Logo