टिकटकको कमाइ मानव सेवा आश्रमलाई सहयोग

टिकटकको कमाइ मानव सेवा आश्रमलाई सहयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । सामाजिक सञ्जालहरु फेसबुक, ट्वीटर, टिकटक, युट्युव आदिका प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढ्दो छ । जसरी सामाजिक सञ्जाल प्रयोगकर्ता बढिरहेका छन् त्यसरी नै सामाजिक वा पारिवारिक विकृति बढिरहेका पनि छन् ।

यसकै माध्यमबाट ठूलाठूला अपराध पनि भइरहेका छन् । तर सामाजिक सञ्जालको खराब प्रयोजन मात्रै भएको छैन, यसको सदुपयोग पनि उत्तिकै भएका छन् ।

सामाजिक सञ्जालहरुलाई कतिपयले मनोरञ्जनकालागि प्रयोग गर्ने गरेको पाइन्छ । कतिपयले व्यापार, व्यवसाय विस्तार गर्ने माध्यम, साथीभाइ भेटघाट गर्ने माध्यम, सिक्ने वा सिकाउने माध्यम, जीवनशैली परिवर्तन गर्ने माध्यम, करियर विकास गर्ने माध्यम वा समाजसेवाको माध्यम पनि बनाएको पाइन्छ । कसैले च्यारिटीको रुपमा सामाजिक सञ्जाललाई प्रयोग गरेर हजारौं मानिसको दुःखमा मल्हम लगाउने काम पनि गरेका छन् । यो भनेको आ–आफ्नो रुची र क्षमताको कुरा पनि हो ।

पछिल्लो समय सामाजिक सञ्जाल टिकटक निक्कै चर्चित बनिरहेको छ । टिकटककै माध्यमबाट धेरै प्रयोगकर्ताहरु अभिनय क्षेत्रमा प्रवेश गरिसकेका छन् भने धेरै जना सेलिब्रेटी पनि बनेका छन् । त्यसैगरी कतिपयले लाखौं रुपैयाँसम्म टिकटकबाटै कमाएका उदाहरण पनि छन् । यिनै मध्येका एक टिकटक प्रयोगकर्ता हुन्- श्रीराम पौडेल ।

पौडेल पेशाले शैक्षिक व्यवसायी हुन् । उनी पनि टिकटकलाई मनोरञ्जनको साधन मान्थे । लकडाउन सुरु हुनु अघिसम्म पनि उनको त्यहि धारणा थियो । लकडाउनमा फुर्सदिलो भएर घरमा बस्दा उनले मनोरञ्जनकै लागि टिकटक खाता खोले । त्यहाँ अरुले जसोजसो गर्छन् उनले पनि त्यसै त्यसै गर्दै छोटा र रमाइला भिडियो राख्न थाले ।उनको टिकटक चलाउनुको एकमात्रै उद्देश्य मनोरञ्जन लिनु र दिनु मात्रै थियो ।

तर जब चलाउँदै गए उनले त्यसैमा अनेकौं सम्भावना देखे । टिकटक मनोरञ्जनको लागि मात्रै होइन रहेछ भन्ने बुझे । उनी भन्छन्, ‘टिकटकमा अनेकौं सम्भावना हुँदा रहेछन् । एउटा त साथीभाइहरुसँग जोडिन, कुराकानी गर्न, रमाइलो गर्न पाइयो । अर्को कुरा आफ्नो व्यवसाय वा व्यक्तित्व विकास गर्न पनि पाइयो । तेस्रो कुरा, आर्थिक आम्दानी पनि गर्न पाइयो ।’

अहिले टिकटकका एक्टिभ युजर बनेका छन् पौडेल । उनले टिकटक खाता खोलेको लगभग चार महिना मात्रै हुँदैछ । तर यो अवधिमा उनका करिब साढे अठार लाख फलोअर भइसकेको छन् । त्यतिमात्रै होइन उनले यसबाटै असी हजार भन्दा बढी नगद आम्दानी पनि गरिसकेका छन् ।

टिकटकबाट आम्दानी पनि हुन थालेपछि उनले अर्को फरक सोच बनाए त्यो हो, ‘टिकटकको कमाई सामाजिक सेवामा लगाउने’ । उनले भने, ‘टिकटकबाट जति आम्दानी हुन्छ त्यो रकम गरीब, दुःखी र पीडितको घाउमा मल्हम लगाउन प्रयोग गर्छु ।’ टिकटकबाट पनि त्यत्तिकै कमाई हुने होइन । यसमा समय, क्रियटिभिटी र प्राविधिक ज्ञान पनि खर्चिनुपर्ने हुन्छ ।

यो लगानीबाट आम्दानी भएको रकम उनले व्यक्तिगत प्रयोगको लागि नभई सामाजिक सेवाको लागि खर्च गर्ने अर्को आदर्श भाव प्रस्तुत गरे । जसको फलस्वरुप उनले पहिलो पटक आम्दानी गरेको करिब ७५ हजार रुपैयाँ बराबरको खाद्यान्न सामाखुसीस्थित मानव सेवा आश्रमलाई सहयोग गरे ।

पौडेलले शनिबार बिहान मानव सेवा आश्रममा पुगेर आफ्नै हातले ती खाद्य सामग्रीहरु हस्तान्तरण गरे । उनले चामल, दाल, तेल, मरमसला, चिउरा, सोयाविन लगायतका खाद्यसामग्रीहरु आश्रमलाई दिए ।

उनले दिएको खाद्यान्नले आश्रमका ४१ जना आश्रितलाई एक महिना पुग्ने आश्रमका सञ्चालन सहयोगी सानु गुरुङ्गले बताए । आश्रम सहयोगी दाताहरुकै सेवाभावले चलेको छ । पौडेल जस्तै दाताहरुले दिएको सहयोगले यहाँका आश्रितहरुको गुजारा चलिरहेको छ । अन्य दाताहरुसँग पनि आश्रम सञ्चालक यस्तै सहयोग र सद्भावको अपेक्षा गर्छन् ।

बालाजु जेसिजको संस्थापक अध्यक्ष साथै नेपाल जेसीजका पुर्व महासचिव समेत रहेका उनले विभिन्न संघ, संस्थामा आवद्ध रहेर वा नरहेर पनि पटक पटक सहयोग गर्दै आएका छन् । तर जति यसअघि सहयोग गरे त्यो भन्दा अहिलेको सहयोग विशेष र महत्त्वपूर्ण लागेको उनी बताउँछन् । उनले भने, ‘मनोरञ्जनका लागि सुरु गरेको टिकटकबाट असहायको सहयोग गर्न पाउँदा निक्कै खुसी लागेको छ ।’

सामाजिक सञ्जाललाई विकृतिको रुपमा मात्रै बुझ्न नहुने र गलत प्रयोग गर्न नहुने उनको सुझाव छ ।

Logo