एनआरएनए सह-कोषाध्यक्ष टंक गैरेद्वारा आइसीसी सचिवमा उम्मेदवारी

एनआरएनए सह-कोषाध्यक्ष टंक गैरेद्वारा आइसीसी सचिवमा उम्मेदवारी

केन्द्रबिन्दु
0
Shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी २०२३-२५ कार्यकालका लागि एनआरएनए आइसीसी सहकोषाध्यक्ष टंक प्रसाद गैरेले केन्द्रीय सचिव पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

एनआरएनए अभियानमा निरन्तर सक्रिय रहँदै आएका गैरे गैरआवासीय नेपाली संघ जापानमा २०११ मा प्रवेश गर्दै आइसीसी सदस्य हुँदै अहिले सह-कोषाध्यक्षमा रहेर काम गरेको अनुभव छ भने लायन्स क्लवको अध्यक्ष र अन्य विभिन्न संघसंस्थाको सल्लाहकारको भूमिकामा सामाजिक कार्य गर्दै आएको अनुभव रहेको छ।

गैरेले एनआरएनएको विभिन्न टास्कफोर्समा बसेर पनि आफ्नो कार्य क्षमता प्रस्तुत गरिसकेका छन्। बाग्लुङ गल्कोटमा जन्मेका गैरेले विगत दुई दशक भन्दा बढी जापानलाई आफ्नो कर्मभूमि बनाउँदै आएका छन्।

उनको जापानमा मिना ब्राण्डको आधा दर्जन भन्दा बढी रेस्टुरेन्ट व्यवसायका साथै सिनर्जी पावर पनि रहेको छ। टंक प्रसाद गैरे जापानमा रहेका नेपालीहरु माझ लोकप्रिय छन्।

संस्थागत विकास ,एनआरएनएमा सबैको अपनत्व बोधको लागि यस पटक आफू सचिव पदमा उम्मेदवारी दिएको गैरे बताउँछन्। उनले संस्थाको पद्धति र पारदर्शीतासहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न यस पटकको महाधिवेशनमा सचिव पदमा आफूले उम्मेदवारी दिएको जनाउँदै गैरेले गैरआवासीय नेपाली संघका कार्यक्रमहरु परिणाममुखी बनाउन ठोस नीति तथा कार्यतालिकाको अवलम्बन गर्दै आफू अगाडी बढ्ने बताए।

उनले एनआरएनए अभियानमा युवापुस्ताका मुद्दालाई स्थापित गर्न,दोश्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न,विदेशमा रहेका नेपाली श्रमिकहरुको आवाज बुलन्द बनाउन आइसीसी सचिवमा उम्मेदवारी घोषणा गरेको बताए।

एनआरएन अभियानमा उर्जाशील स्वभावका गैरे सफल व्यवसायी, समाजसेवी र एनआरएनए अभियानमा संभावना बोकेका नेताको रुपमा परिचित छन्। जापान तथा नेपालमा व्यवसाय गर्दै नेपालीहरुलाई रोजगारी सृजना गराएका उनले सामाजिक कार्यमा पनि अग्रस्थानमा रहेर कार्य गर्दै आएका छन्। 

गैरआवासीय नेपाली संघले दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै विश्वसनिय, पारदर्शी र सहभागिता मूलक ढंगले विगतमा प्राप्त गरेको ऐतिहासीक सफलता, सीप, क्षमता तथा अनुभवलाई आईसीसी सचिवको माध्यमबाट विश्वसामु चिनाउने गैरेले बताए।

यस पटक मुख्यतः एनआरएनए संस्थागत सुशासन र पारदर्शीता, युवा, महिलाको सहभागिता, श्रमिक मैत्री, बंशजको नागरिकता, नागरिकताको निरन्तरता लगायतका मुख्य एजेन्डाहरुको कार्यान्वयन गर्ने,पर्यटन प्रर्वद्धन, विदेशमा गएका नेपालीहरुलाई मतदानको सुनिश्चितता, सुरक्षित र मर्यादित बैदेशिक रोजगारको व्यवस्था देखि विदेशको सीप, ज्ञान,पूँजी नेपालमा सुरक्षित लगानीमैत्री वातावरण बनाउने लगायतका रहेका छन्।

उनका प्रमुख केन्द्रीय एजेण्डा भने पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने गैरेले जनाए। गैरेले आफू यस अभियानमा केही दिनको लागी आएकाले आफूलाई साथ र समर्थन गर्न सम्पुर्ण गैरआवासीय नेपालीलाई आग्रह गरेका छन्।

हालसम्म आगामी नेतृत्वका लागी आरके शर्मा,महेश श्रेष्ठ,बद्री केसी,केशव पौडेल, हेमराज शर्मा र रविना थापाले अध्यक्षमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन् भने उपाध्यक्षमा खगेन्द्र न्यौपाने,राज रेग्मी, गणेश केसी, युवा उपाध्यक्षमा रोशन केसी, अब्दुल बासिदले उम्मेदवारी दिएका छन्। महासचिवमा गौरीराज जोशी, बुद्धि सागर सुवेदी , गंगाधर गौतम र पारसमणि पोखरेलले उम्मेदवारी घोषणा गरिसकेका छन्।

Logo