संघीय संसदमा देखिएको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन्। शुक्रबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डसँग सदनको अवरोध हटाउने विषयमा छलफल गरेका हुन्।
आफ्नो पहलले सार्थक परिणाम नदिएको र शीर्ष दलहरुबीच पनि सहमति नभएको भन्दै सभामुख घिमिरेले सदनको अवरोध हटाउन भूमिका खेल्न प्रधानमन्त्रीलाई आग्रह गरे। ‘सदन नचल्नु राम्रो भएन। माननीयहरुले बोल्न समय माग्नुभएको छ। प्राकृतिक विपत्ति लगायतका धेरै विषयमा माननीयहरुले बोल्न पाइनँ भन्नुहुन्छ। दलीय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन,’ सभामुख घिमिरेले भने, ‘आम जनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन्। कम्तिमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस्। समितिको नेतृत्व चयन हुन सकेको छैन। संसदमा कानुन निर्माण भएनन् भन्ने गुनासो छ। सभामुखको रुपमा मैले सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको छु। तर, परिणाममा निस्किन सकेन। शीर्ष नेताहरु नै घण्टौं बस्दा पनि सहमति भएन।’
जवाफमा प्रधानमन्त्री प्रचण्डले सदनको अवरोध अन्त्य गराउन आफूले भूमिका खेल्ने बताए। ‘म पनि सदन खुलाउन भूमिका खेल्छु। तपाईं पनि लाग्नुहोस्। छिट्टै सहमति गर्नैपर्छ। म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु,’ प्रधानमन्त्री प्रचण्डले भने।





























प्रतिक्रिया