काठमाडौं ।
कोरोना भाइरस यतिबेला विश्व भरी नै फैलिएको छ । यसको रोकथाम तथा नियन्त्रणको लागि विश्व नै तीन महिनादेखि लकडाउनमा छ । तर पछिल्लो तीन सातादेखि अधिकांश मुलुकले लकडाउनको मोडालिटी परिर्वतन गरेर मानिसको जनजीवनलाई सहज बनाएका छन् ।
तर पनि कोरोना महामारी रोकिएको छैन । विश्वमा दैनिक हजारौं मानिसले कोरोनाका कारण ज्यान गुमाउनु परेको छ । भने संक्रमण पनि तिव्रगतिमा फैलिंदै गएको छ । बाहिर भिडभाड पनि बढिरेहेको छ । यसले गर्दा अझ खतरा बढ्दै गएको छ ।
सरकारले पछिल्लो तीन हप्तादेखि सार्वजानिक सवारी साधन बाहेक सबै क्षेत्र खुल्ला गरेको छ । सबै प्रकारका उद्योग धन्दा देखि व्यापार व्यवसायसम्म सञ्चालनमा आएका छन् । तर सार्वजनिक सवारी भने चलेका छैनन् । यसले गर्दा पनि केहि हदसम्म रोग फैलिन नसक्ने देखिएको छ । तर पछिल्लो समय बजार सञ्चालनमा आएपछि ट्याक्सी लगायतका सार्वजनिक यातायात मापदण्ड बनाएर सञ्चालनमा ल्याउनु पर्ने व्यवसायीहरुले माग राख्दै आएका छन् ।
यता, सबैभन्दा बढी सर्वसाधारणले प्रयोग गर्ने सार्वजनिक यातायात सञ्चालनमा नआउँदा सर्वसाधारण नागरिकलाई अप्ठ्यारो परेको छ । बिमारीको लागि अस्पताल जान समेत निकै असुविधा भएको र हामीसँग एम्बुलेन्स सिमित रहेकाले सरकारले यातायात संचालनको प्रारम्भिक चरणमा जोरबिजोर आधारमा ट्याक्सी चलाउन अनुमति दिनु उपयुक्त हुने जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डेले बताएका छन् ।
उनका अनुसार ट्याक्सीलाई दिनको २ पटक पूरै स्यानिटाइज गर्ने, सिट कभर नयाँ राख्ने, पछाडिको सिटमा मात्र १ जना वा प्रमाणित एका परिवारका मान्छे बस्न पाउने, ड्राइभरले अनिवार्य मास्क, पन्जा र चस्मा लगाउनु पर्ने, ट्याक्सीमा ह्याण्ड स्यानिटाइजर अनिवार्य राख्ने तथा ट्याक्सी चढ्ने व्यक्तिले अनिवार्य रुपमा मास्क लगाउने लगायतका मापदण्ड पूरा गरेर ट्याक्सी चलाउन अनुमति दिनु व्यवहारिक हुन्छ ।
त्यस्तै, ट्याक्सीलाई एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने, प्यासेन्जरलाई मिटरको आधारमा जहाँ पनि पुर्याउनु पर्ने, बढी भाडा असुल्न नपाउने, ग्राहकले चाहेको ठाउँमा जान्न भन्न नपाइने, बार्गेनिंग गर्न नपाइने लगायतको ट्राफिक प्रहरीले अनुगमन गर्ने तथा मापदण्ड विपरित चलाएमा ३ महिना ट्याक्सी चलाउन नदिने र प्यासेन्जरको कम्प्लेन सुन्ने व्यवस्था मिलाउने हो भने जोरबिजोरको आधारमा ट्याक्सी चलाउन दिनु राम्रो हुने उनको सुझाब रहेको छ ।
कोरोनाको प्रभावले करिव चार महिनासम्म लकडाउन भएर ट्याक्सी नचलाउँदा ट्याक्सी चालक र उनीहरुको परिवारलाई ठूलो मर्का परेको छ तर सरकारले यी व्यवसायीको लागि कुनै पनि राहतको व्यवस्था गरेको छैन । यसको लागि राज्यले पनि बुझ्नु जरुरी रहेको पनि डा.पाण्डेले बताएका छन् ।
त्यस्तै, यो प्रयोग अनुशाशित ढंगले सफल भयो भने लामो बस जस्तै , साझा, महानगर, मयुर आदिलाई १ सिटमा १ जना राखेर (एउटा सिटमा छेउमा, अर्को सिटमा कुनामा बस्ने गरि) तथा सुरक्षाका सम्पूर्ण उपाय अबलम्बन गरेर संचालन गर्न सकिन्छ । यसरी सञ्चालन पछिको चरणमा ग्रीनजोनबाट ग्रीन जोनमा लामो दुरीका बस चलाउने, ग्रीन जोनमा आन्तरिक हवाइसेवा संचालन गर्ने काम गर्न सकिने उनको भनाइ छ ।
अब कोरोना नियन्त्रणको लागि हरेक चरणमा पिसिआर परीक्षणको दयारा बढाउँदै निर्णय गर्दै अगाडी बढेर नेपालले रोग र भोक दुवैको सम्बोधन गर्नु जरुरी हुने डा. पाण्डेले बताएका छन् ।
हामी सबैले उच्च अनुशाशन पालना गरेनौं भने संक्रमण बढ्नेछ, त्यो अवस्थामा लकडाउन तथा कर्फ्यु लगाउनु पर्ने स्थिति पनि आउन सक्छ । हामीले जापान, चीन, भुटान, कोरिया, भियतनाम आदि देशका जनता जस्तै अनुशासित र जिम्मेवार बनेमा हाम्रो जीवन सजिलो र सुरक्षित हुनेछ ।





























प्रतिक्रिया