राष्ट्रपतिले बोलाए मंगलबार सर्वदलीय बैठक

राष्ट्रपतिले बोलाए मंगलबार सर्वदलीय बैठक

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको जारी अवरोध हटाउन सर्वदलीय बैठक बोलाएका छन्। राष्ट्रपति पौडेलले संसदीयमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई मंगलबार बिहान सर्वदलिय बैठक बोलाएको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका हुन्।

‘संसदको जारी अवरोध कसरी हटाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न राष्ट्रपतिले मंगलबार बिहान ८ः ३० बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेतालाई शीतल निवास बोलाउनुभएको छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेलले भने। राष्ट्रपति पौडेलले सोही विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग पनि आइतबार साँझ कुरा गरेका थिए।

त्यसअघि राष्ट्रपतिले पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई साउन २५ गते, साउन २६ गते संघीय संसद अन्तर्गत प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासँग, साउन ३१ गते प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका थिए।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानविन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै साउन १० गते देखि संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएका छन्। 

Logo