माथिल्लो मैलुङ खोलाको आइपीओमा आवेदन दिने समय पुनः थप

माथिल्लो मैलुङ खोलाको आइपीओमा आवेदन दिने समय पुनः थप

केन्द्रबिन्दु
0
Shares

माथिल्लो मैलुङ खोला जलविद्युतको आइपीओमा आवेदन दिने म्याद पुनः थप भएको छ। स्थानीय बासिन्दाले कम्पनीको आइपीओमा भदौ १७ गतेसम्म आवेदन दिन सक्नेछन्। 

यसअघि यस कम्पनीले आज अर्थात् भदौ १ गतेसम्म आवेदन दिन सक्ने जनाएको थियो। तर, आइपीओ जारी भएको समयमा आयोजना प्रभावित क्षेत्रमा अविरल वर्षाका कारण बाढी पहिरो आएकोले म्याद थप गरिएकाे कम्पनीले जनाएको छ। 

यसले भौगोलिक जटिलता, मौसमी प्रतिकुलता तथा प्राकृतिक प्रकोपजस्ता समस्या कारण यातायात सञ्चालन अवरुद्ध भएकाले तोकिएको संकलन केन्द्रमा दरखास्त फारम बुझाउन सहज नहुने विशेष परिस्थिति र्सिजना भएको कम्पनीले जनाएको छ। फलस्वरुपः आइपीओमा आवेदन दिने समय थप गरेको कम्पनीको भनाई छ। 
 
यस कम्पनीले साउन ४ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले स्थानीयलाई जारी पुँजी १ अर्ब रुपैयाँको १०% अर्थात १० करोड रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएको हो।

यसले १ सय अंकित मूल्यमा १० लाख कित्ता सेयर स्थानीयलाई जारी गरेको हो। योमध्ये ५ लाख ७१ हजार ४३० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. १ का बासिन्दालाई छुट्याइएको छ। 

त्यस्तै, २ लाख ८५ हजार ७२० कित्ता सेयर आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिकाकै वडा नं. २, ३, ४ र ५ तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका अन्तर्गतका वडा नं.५ का स्थानीयका लागि निष्कासन खुला भएको छ। यी क्षेत्र बाहेक रसुवा जिल्लाका अन्य क्षेत्रका स्थानीय बासिन्दाका लागि पनि १ लाख ४२ हजार ८५० कित्ता सेयर जारी गरिएको छ। 

यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ। 

स्थानीयले यस आयोजनाको आयोजना स्थल, सानिमा क्यापिटल, सानिमा बैंक र एनएमबि बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। 

Skip This
Skip This
Logo