नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ‘एमसीसी’मार्फत राखेका अनुचित स्वार्थ पूरा गर्न नसकिने बताएका छन् ।
समाजवादी मोर्चाले आज बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्ताे बताएका हुन् । एमसीसीमा केही त्यस्ता अनुचित स्वार्थका विषय र सर्त भए नेपाली जनतालाई स्पष्ट पार्न सरकारलाई उनले आग्रह पनि गरे ।
अध्यक्ष नेपालले नेपाल कुनै पनि सैनिक गठबन्धनमा सामेल हुन नसक्ने बताउँदै संसद्मा १२ बुँदे व्याख्यात्मक टिप्पणीलाई एमसीसीको अङ्ग घोषणा गरेर पास गरिएको स्पष्ट पारे । “नेपालको भूमिमा नेपालको अधिकार छ । अरुको अधिकार स्वीकार्न सक्दैनौँ”, उनले भने, “नेपालको कानुनभन्दा अरुको कानुनमाथि हुनुहुँदैन, सत्ता जोगाउन कसैसँग अनुचित सहमति गरिनुहुँदैन ।”
नेकपा एस गठबन्धनलाई बलियो बनाउँदै अध्यक्ष नेपालले संविधान र व्यवस्थाको रक्षाका लागि काम गर्ने पक्षमा रहेको बताए । उनले जनताको समस्या र मागलाई सदन र सडकबाट सम्बोधन गर्ने गरी लाग्नसमेत आग्रह गरे । केन्द्रसँगै प्रदेश र स्थानीय तहमा वर्तमान गठबन्धनमा सामेल रहेकाले सरकार, सदन र सडकबाट जनताको सवाल उठाउने गरी लाग्नुपर्नेमा अध्यक्ष नेपालको जोड थियो । “हामी जहाँ छौँ, त्यहिबाट जनताको पीडा र बेदनालाई सरकार, सदन र सडकबाट उठाउनुपर्छ”, उनले भने ।





























प्रतिक्रिया