नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अर्थमन्त्री प्रकाशशरण महतसँग भेट गरेको छ। नाडाका अध्यक्ष डा. धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले अर्थमन्त्री महतसंग भेटगरी अटोमोवाइल क्षेत्रमा देखा परेका विभिन्न विषयहरुमा छलफल गरेको हो ।
सो छलफलमा नाडाका अध्यक्ष थापाले सदैव समस्याको रुपमा देखा पर्दे आएको सन्दर्भ मूल्य सूचिका सन्दर्भमा तत्काल सरोकारवाला निकायहरुसंग आवश्यक सल्लाहगरी ययार्थपरक मूल्य कायम गर्न अनुरोध गरे ।
साथै उनले सुस्ताएको बजारलाई चलायमान बनाउन ऋण पुर्नतालिकीकरको व्यवस्था हुनु पर्ने, बैंक तथा वित्तिय निकायहरुलाई अटोमोवाइल क्षेत्रमा लगानी गर्नको लागि प्रमुख बाधकको रुपमा रहेको हायर पर्चेज कर्जाको जोखिम भारलाई घटाएर ७५ प्रतिशत नै कायम गरिनु पर्ने, बैकहरुबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन भ्यालु रेसियोको हालको ५० प्रतिशतको सिमालाई बढाएर ७५ प्रतिशत कायम गर्नका लागि अनुरोध गरे ।
त्यसैक्रममा अध्यक्ष थापाले चालु पुँजि कर्जाको सम्बन्धमा नेपाल राष्ट्र बैंकले हालै जारी गरेको कर्जा बर्गीकरण सम्बन्धी नयाँ व्यवस्थामा कुनै समूहभित्रको कुनै एक ऋणीले लिएको कर्जा निष्क्रिय बर्गमा बर्गीकरण भए समूहमा रहेका अन्य ऋणीको समेत निष्क्रिय बर्गमा कर्जा बर्गीकरण गरिनु पर्ने व्यवस्थाले बैंक तथा वित्तिय निकायमा असल कर्जावालाहरुलाई समेत असर पर्न जाने बताउँदै कुनै पनि कर्जा निष्क्रिय बर्गमा बर्गीकरण भएमा कर्जाको बक्यौता रकम भुक्तानी गरेपछि पनि ६ महिनासम्म असल कर्जाको बर्गमा स्तरोन्नती नहुने व्यवस्थाले नीजि क्षेत्रलाई हतोत्साहित बनाउने भएकोले यस व्यवस्थालाई पनि तत्काल सच्याउनका लागि आग्रह गरे ।
त्यसैगरी सो भेटघाट तथा छलफलमा अध्यक्ष थापाले नेपालमा अहिले अटोमोवाइल उद्योगहरु पनि क्रमशः खुल्दै जाने क्रममा रहेको सन्दर्भमा यस्ता उद्योगहरुको स्थापनाका लागि थप प्रोत्साहित गर्न सरकारले अटोमोवाइल उद्योगहरुलाई विशेष क्षेत्रमा बर्गिकरणगरी सोही अनुरुप सहुलियत कर्जा उपलब्ध गराउने व्यवस्था हुनु पर्ने लगायत काठमाण्डौ उपत्यकामा एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माणको लागि बजेटमा व्यवस्थागरी त्यसको निर्माणका लागि समेत पहल गरि दिन आग्रह गरेका छन् ।
छलफलको अन्त्यमा मन्त्री महतले समस्याहरुका सम्बन्धमा आफू जानकार रहेको र त्यसको समाधानका लागि प्रयाश गरिने आश्वासन दिए ।
उक्त भेटघाट तथा छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, केन्द्रीय कार्य समिति सदस्यद्धय प्रकाश कपुरी तथा निशान ढकालसमेतको उपस्थिति रहेको थियो ।





























प्रतिक्रिया