काठमाडौं ।
टोखा नगरपालिकाले सलह किरा सङ्कलन गरेर आफ्नो वडामा बुझाउने व्यक्तिलाई प्रतिकिलो रु ५० प्रोत्साहन भत्ता दिने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले नेपालको कृषि क्षेत्रको चुनौतीका रूपमा देखिएको सलह किरा नियन्त्रणका लागि उक्त योजना अगाडि सारेको हो ।
नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सलह किराले ठूलो क्षेत्रमा कृषिबाली नष्ट गर्न थालेपछि यसको नियन्त्रणका लागि प्रोत्साहनस्वरुप रकम उपलब्ध गराउने घोषणा गरिएको जानकारी दिए। टोखाले सलह किरा नियन्त्रणका लागि किराको बासस्थान पहिचान गरी बिहान ६ बजेदेखि ८ बजेसम्म र बेलुका ६ बजेदेखि ७ बजेसम्म मालथियन, क्लोरोपाइरिफस, बोरिक एसिड लगायतका विषादी प्रयोग गर्न किसानलाई आग्रह गरेको छ ।
यस्तै सलह बसेको रुख तथा बोटविरुवा हल्लाई किरा भगाउने, सलह किरा बढी प्रोटिनयुक्त भएकाले मारेर हाँस तथा कुखुराको दानाका रूपमा प्रयोग गर्न कृषकलाई सुझाव दिइएको छ । टोखाले सलह किरा साँझपख बोटबिरुवामा झुण्ड अवस्थामा बस्ने भएकाले यसलाई भगाउन थाल, मादल, टिन ठटाउने, खेतीबालीलाई संरक्षणका लागि झुलले ढाक्नु पर्ने बताएको छ । टोखामा ११ वडा रहेका छन् ।रासस































प्रतिक्रिया