काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पाँचौ दिनको स्थायी कमिटी बैठकमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएको छ । प्रधामन्त्री ओलीले तथ्यहिन अभिव्यक्ति दिएर देशको सार्वभौमसत्तामा असर पुर्याएकाले सत्ता चलाउने नैतिक आधार गुमाएको भन्दै आज पनि राजीनामा मागिएको हो ।
प्रधानमन्त्री ओलीले गत आइतबार ६९ औँ मदन जन्मजयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै आफूले नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेकाले भारतीय पक्षले प्रधानमन्त्रीबाट हटाउन चलखेल गरेको अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री ओलीको पार्टीभित्रबाट र प्रतिपक्षी दलबाट व्यापक आलोचना गरिएको छ । बुधबारको स्थायी कमिटी बैठक एक घण्टा बसेर स्थगित भएको छ ।
कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधनपछि संघीय संसद्को बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम तय भएकाले बैठक स्थगित गरिएको थियो । छोटो समय बसेको बैठकमा पनि प्रधानमन्त्री ओलीको राजीनामा माग गरिएको थियो । बैठकमा लिलामणि पोखरेल, मातृका यादव, नन्दकुमार प्रसाई, पेशल खतिवडा र योगेशकुमार भट्टराईले धारणा राखेका थिए । जसमध्ये लिलामणि पोखरेल, मातृका यादव, नन्दकुमार प्रसाई र पेशल खतिवडाले प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने माग गरे । स्रोतका अनुसार आजको बैठकमा बोल्दै आमन्त्रित स्थायी समिति सदस्य पेशल खतिवडाले प्रधानमन्त्रीको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत भएको बताएका थिए । साथै, अर्का आमन्त्रित सदस्य नन्दकुमार प्रसाईंले प्रधानमन्त्री ओलीलाई पदीय मर्यादा विपरीत जथाभावी नबोल्न आग्रह गरेका थिए ।
त्यस्तै बैठकमा बोल्दै स्थायी कमिटी सदस्यहरू मातृका यादव र लिलामणि पोखरेलले पनि ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबैबाट राजीनामा दिनुपर्ने माग राखको स्रोतकाे दाबी छ । तर, माधवकुमार नेपाल निकट मानिने स्थायी कमिटी सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले भने पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउनु पर्नेमा जोड दिएका छन् ।
त्यस्तैगरी मंगलबार बसेको बैठकमा धारणा राखेका अधिकांश सदस्यहरूले पनि प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए । बैठकमा स्थायी कमिटी सदस्यहरू बेदुराम भुसाल, मुकुन्द न्यौपाने, अष्टलक्ष्मी शाक्य, भीम रावल, रघुजी पन्त, गणेश साह, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, गोकर्ण विष्ट, पम्फा भुसाल, युवराज ज्ञवाली, भीम आचार्यले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा राजीनामा माग गरेका थिए । साथै, सचिवालयका पाँच प्रमुख नेताहरूले खुलेरै ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा मागेका थिए । जसमध्ये कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल, पार्टी उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ रहेका थिए ।
बैठक सुरु गर्दै अध्यक्ष दाहालले नियमित एजेण्डामा छलफल हुनुपर्ने भए पनि ती एजेण्डालाई त्यतिकै थाती राखेर प्रधानमन्त्री ओलीको अभिव्यक्ति र एमाले दर्ता भएको विषयमा जवाफ दिनुपर्ने बताएका थिए । दाहालले प्रधानमन्त्री ओलीबाट पूर्वसहमति पालना नहुनु र मनमौजी तरिकाले पार्टी र सत्ता चलाएकाले अब राजीनामा दिनु बाहेक अर्को विकल्प नरहेको स्पष्ट पारेका थिए । वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओली पार्टीलाई सिध्याउने बाटोमा लागेको आरोप लगाएका थिए । साथै, उनले आफू मालिक बनेर अरूलाई दास ठान्ने प्रवृत्ति ओलीमा रहेको भन्दै ओली गुटको नेता बन्न योग्य भए पनि पार्टीको नेता कहिल्लै बन्न नसकेको दाबी गर्दै राजीनामा मागेका थिए ।
अर्का वरिष्ठ नेता झलनाथ खनालले ओलीमा गम्भीर कूटनीतिक विचलन आएको आरोप लगाउँदै तत्काल राजीनामा दिनुपर्ने अडान राखेका थिए । पार्टी उपाध्यक्ष वामदेव गौतमले ६९ औँ मदन जन्मजयन्तीका अवसरमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गैरजिम्मेवार भएकाले कुनै बिलौना नगरी राजीनामा दिनुपर्ने बताएका थिए । प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो स्वार्थलाई केन्द्रमा राखेर मुलुकको कूटनीति र परराष्ट्र नीतिमाथि खेलबाड गरेको आरोप लगाएका थिए । साथै, उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरे ।
चौथो दिनको बैठकमा प्रचण्ड पछि बोलेका प्रधानमन्त्री ओलीले अधिकांश समय सरकार र आफ्नो कामको बचाउ गरेका थिए । आफूले भारतको विरोध गर्दा पार्टीभित्रैका नेताहरूको मन दुखेको देखेर अचम्ममा परेको बताएको स्रोतको दाबी छ । सरकारले राम्रो काम गरे पनि आफ्नै पार्टीका नेताको कुण्ठाका कारण सरकारको आलोचना मात्रै भइरहेको अाेलीकाे भनाइ थियाे । स्थायी कमिटीको छैठाैँ दिनको बैठक बिहिबार बिहान ११ बजे बस्नेछ ।































प्रतिक्रिया