रामेछापमा श्रम संस्कृति जगाउँदै स्थानीय तहका जनप्रतिनिधि

रामेछापमा श्रम संस्कृति जगाउँदै स्थानीय तहका जनप्रतिनिधि

केन्द्रबिन्दु
0
Shares

नेपाली समाजमा हराउँदै गएको श्रमदान संस्कृतिलाई स्थानीय तहका जनप्रतिनिधिहरू पुनः जगाउने प्रयत्न गर्दैछन्। 

विगतमा श्रमदानबाट समुदायमा धेरै काम हुने गरेका भए पनि अहिले श्रम संस्कृति मर्दै गएको छ। मानिसहरू सामाजिक काममा मात्र होइन आफ्नै काममा समेत सरकारी अनुदान र सहयोग माग्न धाउने क्रम बढ्दै गएको छ। 

‘आफ्नो घर माथिबाट खसेको काल्नो पन्छाउन पनि अनुदान र सहयोग माग्ने आउने क्रम बढेको छ’,मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ पछिल्लो अवस्था सुनाउँदै भन्छन्। 

विगतमा व्यक्तिगत काम मात्र होइन सार्वजनिक कामहरू बाटो मर्मत गर्ने,चौतारो बनाउने,रुख रोप्ने,धारा-पँधेरा बनाउने, पोखरी खन्ने, कुलो मर्मत गर्ने काममा गाउँलेहरू श्रमदानमा जुट्ने गर्दथे।

व्यक्तिलाई समस्या पर्याे भने वा व्यक्तिका घर बनाउँदा निदाल बोक्ने, तलो छाप्ने,विवाह,व्रतबन्ध जस्ता भोजहरूमा पनि छिमेकीले निःशुल्क श्रमदान गर्दथे। तर अहिले हरेक काममा अनुदान र सहयोग खोज्ने र त्यसबाट समेत नाफा कमाउने प्रचलन बढ्दै गएको छ। 

स्थानीय तहले उपभोक्ता समिति मार्फत गर्ने कामको उपभोक्ता समितिमा बस्न हारालुछ हुने गरेको छ। उपभोक्ता समितिमा बसेर काम गर्दा केही नाफा कमाउन सकिन्छ भन्ने धारणा विकास हुँदै गएको छ। 

हराउँदै गएको श्रमदान संस्कृतिलाई जगाउन आफैं श्रमदानमा खट्ने गरेको लिखु तामाकोशी गाउँपालिका–२ सैपुका वडाध्यक्ष सन्तोष पौडेल बताउँछन्। उनी वडाध्यक्ष निर्वाचित भएदेखि नियमित रूपमा श्रमदानको काममा खटेका छन्। 

निर्वाचित भएकै वर्ष वर्षाको कारण सडक बिग्रिएर यातायात समाधान नचलेपछि वडाध्यक्ष पौडेल वडाका अन्य जनप्रतिनिधि लिएर श्रमदानमा जुटेका थिए। त्यस बेला स्थानीय खासै श्रमदानमा ननिस्किएका भए पनि यस वर्ष भने नागरिकहरूले साथ दिएका वडाध्यक्ष पौडेल बताउँछन्।

‘श्रमदान गरेर सडक मर्मत गर्याैँ, विद्युत्का पोल बोक्यौँ, खाडल खन्यौँ, तार तान्यौँ, नागरिकका घरमा बत्ती बाल्यौँ, वर्षाको बेलामा पनि कुनै दिन नरोकी यातायात साधन सञ्चालन गर्याैँ’,पौडेलले भने। 

सोही गाउँपालिका-१ का वडाध्यक्ष प्रदीप तामाङ पनि नागरिकहरू विस्तारै श्रमदानको काममा जुट्न लागेका बताउँछन्। ‘सुरु सुरुमा श्रमदान जुटाउन धेरै गाह्रो थियो, अहिले भने विस्तारै मानिसहरू निस्कन लागेका छन्, हाम्रो वडामा पनि सडक मर्मतमा श्रमदान जुटाएर धेरै काम गरियो’,उनले भने। 

मन्थली नगरपालिका-८ का वडाध्यक्ष गोपाल श्रेष्ठ श्रमदान जुटाउन जनप्रतिनिधि आफैं श्रमदानमा निस्कनु पर्ने बताउँछन्।‘जनप्रतिनिधि आफैं निस्किएपछि विस्तारै अरू मानिस पनि पछि लाग्ने रहेछन्’,उनले भने। वृक्षारोपण, सरसफाइ लगायतका काममा विस्तारै श्रमदान जुट्न लागेको उनले बताए।

श्रमदान मार्फत सामाजिक काम अघि बढाउनेमा मन्थली नगरपालिका-२ पनि पर्दछ। सो वडामा टोल सुधार संस्था मार्फत मन्दिर,बाटो सफाइका साथै वृक्षारोपण लगायतका कार्यक्रम हुन लागेका वडाध्यक्ष सुरेन्द्र कार्की बताउँछन्।‘श्रमदान गरेर केही काम गर्नुपर्याे भन्दा सहभागिता जुट्न लागेको छ’,कार्कीले भने। 

जिल्लाको उमाकुण्ड गाउँपालिकामा पनि यस पटकको वर्षामा सडक मर्मत गर्न स्थानीयले राम्रो श्रमदान गरे। वर्षाले बिग्रिएको मध्यमार्गी लगायतका सडक मर्मत गर्न स्थानीयले श्रमदान गरे।
 
यी केही प्रतिनिधिमूलक घटना हुन्। पछिल्लो समय यस्ता काममा नागरिकको ठाउँमा सहभागिता बढेको छ। जसले गर्दा हराउँदै गएको नेपाली समाजको श्रमदान संस्कृति पूनर्जागृत हुँदैछ। 

Logo