चिकित्सकमाथि कुटपिटको घटनामा तत्काल छानबिन गरेर दोषीमाथि कारबाही गर्न रास्वपाकाे माग

चिकित्सकमाथि कुटपिटको घटनामा तत्काल छानबिन गरेर दोषीमाथि कारबाही गर्न रास्वपाकाे माग

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले चिकित्सकमाथि कुटपिट गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । 

आइतबार सामाजिक सञ्जालमार्फत महामन्त्री ढकालले गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि कुटपिटको घटनामा तत्काल छानबिन गरेर दोषीमाथि कारबाही गर्नु्पर्ने बताएका हुन् । घटनाबारे समयमै छानबिन भएको भए अत्यावश्यक सेवा नै ठप्प हुने गरेर अस्पताल बन्द गर्दै स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिनुपर्ने अवस्था नआउने उनको भनाइ थियाे । 

'स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कानुनअनुसार कारबाहीको प्रक्रिया अघि बढाउनू। अब आइन्दा कानुनअनुसार गर्नू भनेर पटक-पटक निर्देशन दिने अवस्था नआओस्, आपराधिक कार्यमा संलग्न जोसुकै हुन्,कानुनअनुसार अघि बढ्नूहोस्, राजनीतिक हस्तक्षेप हुँदैन । गृहमन्त्रीले प्रहरी प्रमुखलाई बोलाएर यति निर्देशन दिने हो भने अत्यावश्यक सेवा नै ठप्प हुने  गरेर अस्पताल बन्द गर्दै स्वास्थ्यकर्मीहरू यसरी आन्दोलनमा उत्रनुपर्ने थिएन। भएकै कानुन पनि लागू गर्न माग राख्दै आन्दोलन गर्नुपर्ने अवस्था आउनुमा दोषी र ? राज्य वा आन्दोलन गर्ने चिकित्सक ?' उनले भनेका छन् । 

गत बुधबार हेटौँडा उपमहानगरपालिका–१ स्थित सन्चो अस्पतालमा डा विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको घटनाको विरोधमा चिकित्सक संघको आह्वानमा आइतबार देशभरका सरकारी र निजी अस्पतालको आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प गरिएको छ । बन्दका कारण ओपिडीलगायतमा उपचार गर्न आउनेहरु बिचल्लीमा परेका छन् ।

Logo